विश्वमा पहिलो कागजी मुद्रा चीनले,पहिलो डिजिटल मुद्रा पनि उसैले

विश्वमा पहिलो कागजी मुद्रा चीनले,पहिलो डिजिटल मुद्रा पनि उसैले

चीनले आगामी हिउँदे ओलम्पिकलाई मौद्रिक क्षेत्रमा नयाँ फड्को मार्ने योजनाअन्तरगत सम्पन्न गर्ने भएको छ । उसले आगामी फेब्रुअरीमा राजधानी बेइजिङमा हुन लागेको हिउँदे ओलम्पिक २०२२ लाई डिजिटल मुद्रा शुरुआतको उपयुक्त समयको रुपमा प्रयोग गर्न लागेको हो ।

फेब्रुअरी ४ देखि २० सम्म हुन लागेको विश्वव्यापी खेल मेलामा डिजिटल चिनियाँ युआनको पूर्ण प्रयोग गर्ने तयारी छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरमा उक्त मुद्राको शुरुआत गरेर अनन्तकालसम्म त्यसलाई प्रयोग गर्ने योजना बनाइएको डिजिटल युआन परियोजनाका विज्ञहरुले बताएका छन् ।

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले फेब्रुअरी ४ मा खेलकुदको औपचारिक उद्घाटनअघि नै सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) प्रयोगमा ल्याउने घोषणा गरेको छ । उक्त घोषणा विश्वको एउटा आर्थिक महाशक्ति राष्ट्रको पहिलो डिजिटल करेन्सीको औपचारिक शुरुआत हुने जनाइएको छ ।

चीनले प्रयोगमा ल्याउन लागेको डिजिटल करेन्सी विश्वका हाल केही देशले प्रयोगमा ल्याएको क्रिप्टोकरेन्सीभन्दा बिल्कुल फरक रहेको चिनियाँ केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् । हाल प्रचलनमा रहेको कागजी मुद्रा र सामान्य बैंकिङ कारोबारभन्दा फरक यो मुद्राको प्रयोगको बारेमा सबैमा कौतुहलता देखिएको छ । क्रिप्टोकरेन्सी अन्य धेरै वटा देशमा झैँ चीनमा पनि प्रतिबन्धित छ ।

चीनले जारी गर्न लागेको नयाँ खालको डिजिटल करेन्सीबारे तत्काल विश्वभर प्रचार हुने जनाइएको छ । खेलकुद प्रतियोगितामा भाग लिन आउने हजारौं आन्तरिक तथा बाह्य खेलाडी,पदाधिकारी र लाखौं दर्शकले नयाँ खालको भुक्तानी प्रणालीबारे विश्वलाई जानकारी गराउने छन् । उनीहरुले चीनको राजधानीमा हुने त्यस्तो मुद्राको कारोबार र प्रक्रियाको बारेमा पनि आँखैले हेर्न पाउने छन् ।

केन्द्रीय बैंकले डिजिटल युआनको व्यापक प्रयोगको निम्ति पर्याप्त भौतिक पूर्वाधारको विकास गरिरहेको जनाएको छ । यसलाई छिट्टै नै सीमापार कारोबारमा समेत उपयोगमा ल्याउने उद्देश्य राखिएको छ ।
कतिपयले चीनले अबको डेढ महिनाभित्र जारी गर्न लागिएको डिजिटल युआनको कारोबारले हाल विद्यमान अमेरिकी डलरमा हुने गरेको कारोबारलाई बिस्थापित गर्ने अनुमान गर्न थालेका छन् । हाललाई उक्त डिजिटल मुद्रा बेइजिङका होटल,रेष्टुरेन्ट,रंगशाला र अन्य केही तोकिएका स्थानमा प्रयोग गरिनेछ ।
Kishor Shrestha
“हाललाई उक्त डिजिटल मुद्रा बेइजिङका होटल,रेष्टुरेन्ट,रंगशाला र अन्य केही तोकिएका स्थानमा प्रयोग गरिनेछ ।”

टिप्पणीहरू