काठमाडौँमा आज यस्तो हुँदैछ

काठमाडौँमा आज यस्तो हुँदैछ

आज राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि विभिन्न राजनीतिक दल तथा संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । महिला अधिकार मञ्च बाँकेले विधवा महिला निर्मला कुर्मीकाे अपहरण शरीर बन्धक गरि हत्या तथा घरेलु हिंसा पिडित महिला नन्कुन्नि धाेविकाे हत्यारालाई कारवाही लगायतका माग राखि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । बिहान १० बजेदेखि माइतीघर मण्डलमा धर्ना शुरु भएको छ ।

आजै ज्यापू संस्कृति विकास कोषले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा १८ औं राष्ट्रिय ज्यापू दिवस मनाउँदै छ । प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने उक्त कार्यक्रमपूर्व र्याली निकाल्ने तयारी छ । र्यालीसहित बसन्तपुरमा पुगेर १२ बजे कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ।

यता, प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ले भक्तपुरमा अधिवेशन गर्दैछ । मध्यपुर ठिमीस्थित शंखधर पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुने जनाइएको छ । त्यस्तै, एमाले भक्तपुर नगरपालिका-२ नं वडा कमिटीले दशौं महाधिवेनको सन्देशसभा तथा बधाई एवं योमरी विशेष कार्यक्रम गर्दैछ । दिउँसो २ बजे होटल स्वीटहोम दरवार स्क्वायरमा कार्यक्रम हुने बताइएको छ ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । प्रमुख प्रतिपक्ष एमालेले भने बैठकमा सहभागी नहुने बताएको छ ।

यता, न्यायालयसम्बन्धी विवाद र एमसीसी खारेजीको माग गर्दै सामाजिक अभियन्ता भनिने तारा बरालको आमरण अनशन आज पनि जारी छ । बिजुलीबजारस्थित सुरेन्द्र खत्रीकाे घरको चौथो तलामा कात्तिक ३० गते बेलुकादेखि गाेप्यरुपमा अनसन बसेकोमा बरालको स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर ६ गते साँझ वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको मंसिर १६ गतेदेखि आईसियू कक्षको १६ नम्वर बेडमा उपचार भईरहेको छ ।

टिप्पणीहरू