कुन–कुन कमरेडमाथि चल्यो करौंती
नरेश खरेल ०२८ देखि २०३० सम्म झापा जिल्लाका युवा कम्युनिष्टको नेतृत्वमा चलेको सशस्त्र विद्रोहका जीवित थोरैमध्ये एक नेता हुन् । एमाले अध्यक्ष केपी ओलीका जेल सहयात्री पनि हुन् । ओलीभन्दा तीन वर्ष बढी (१७ वर्ष) जेलजीवन बिताएका उनै खरेल एमालेको केन्द्रीय राजनीतिबाट पाखा पारिएका छन् ।
हालै चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा खरेल केन्द्रीय सदस्यको आकांक्षी थिए । तर, अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा परेनन् । सूचीमा नपरेपछि उम्मेदवारी मनोनयन गरेका खरेलले पछि उम्मेदवारी फिर्ता लिएका थिए ।
चितवनबाट केन्द्रीय सदस्यमा जानीजानी छुटाइएका खरेल मनोनीत कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने विश्वास धेरैको थियो ।
छैटौँ महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहेका र यसपटक पनि आकांक्षा राखेकाले उनी मनोनयनमा पर्ने विश्वास गरिएको हो । तर, केन्द्रीय सदस्य मनोनयन र नेताको कार्यविभाजन गर्न अस्ति भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा खरेलको नाम आएन । अध्यक्ष ओलीको एकल प्रस्तावमा ४४ जना केन्द्रीय सदस्य मनोनयन गरिँदा फेरि पाखा पारियो । ओलीको चित्तमा नपर्दा कम्युनिष्ट आन्दोलनको एउटा इतिहासलाई ‘कत्लेआम’ गरियो ।
खरेल मात्र होइन, झापा विद्रोहदेखि नै एमालेमा लागेर कपाल फुलाएका दर्जनौँ नेता ‘दूधमा परेको झिँगा’ जसरी मिल्काइएका छन् । अझ भनौँ, कम्युनिष्ट आन्दोलनमा लागेर एक जुग बिताएका नेता एमालेमा हुर्कंदै गरेको ‘बा संस्कृति’को कोपभाजनमा परेका छन् । जसको योगदानले एमाले आजको ठाउँमा छ, तिनै नेताका लागि अहिले पार्टीमा ठाउँ छैन । झापाकै मनकुमार गौतम पनि १४ वर्ष जेल परेका थिए । उनी पनि केन्द्रीय सदस्यको स्वाभाविक हकदार थिए ।
तर, उनलाई पनि त्यसैगरी पाखा पारियो । एमालेको अन्यायमा परेका अर्का पुराना नेता हुन् मोहनचन्द्र अधिकारी । नेपालको नेल्सन मण्डेलाको उपाधि पाएका उनी झापा आन्दोलनका जीवित योद्धा पनि हुन् । तर, उनका लागि अहिले एमाले निकै टाढा भइसक्यो । केपी ओलीको गुटवादी चिन्तनको शिकार भएका उनी अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् । जानकारहरूका अनुसार आफैँले निर्माण गरेको पार्टी छाडेर जाने चाहना अधिकारीको थिएन ।
तर, अपमानको भारीले थिचिएर बस्नुभन्दा स्वाभिमानका साथ अर्को योगदानका लागि तयार हुने निचोड निकालेर अन्तिम अवस्थामा मात्रै उनले एमाले छाड्ने निर्णय गरेका थिए । ओलीले भेटेर अप्रोच गरेको भए गौतम त्यतिबेलै पार्टी छाड्ने मनस्थितिमा नरहेको जानकारहरू बताउँछन् । तर, राजनीतिलाई गणितको खेल बनाएका ओलीको रोजाइमा गौतम परेनन् । त्यसैले उनलाई फर्काउन कुनै प्रयास भएन ।
राजावादी नेत्री भद्रकुमारी घलेसँग आशीर्वाद थाप्न उनकै घरमा पुग्न सक्ने ओलीका लागि मोहनचन्द्र अलिकति पनि प्राथमिकतामा परेनन् । एमालेको जम्बो केन्द्रीय कमिटीमा नअटेका अर्का नेता नारद भारद्वाज पनि झापा आन्दोलनका नेता हुन् । कतारका लागि राजदूत बनाइएका उनी अहिले पदमा छैनन् । तर, झण्डै ३४६ सदस्यीय केन्द्रीय कमिटीमा भारद्वाजका लागि ठाउँ रहेन ।
०३२ सालदेखि पार्टीमा लागेका धर्मराज निरौला पनि केन्द्रीय राजनीतिबाट बाहिर पारिएका छन् । पाँचौं र छैटौँ महाधिवेशनमै केन्द्रीय सदस्य भैसकेका उदयपुरका सुरेश कार्की पनि ओलीको रोजाइमा परेनन् । त्यस्तै, कीर्तिपुरका सुरेन्द्र मानन्धर पनि एमालेका पुराना नेता हुन् । नवौं महाधिवेशनमा केन्द्रीय सदस्य रहिसकेका उनी पनि योग्य ठहरिएनन् ।
चितवनका पुरुषोत्तम न्यौपाने पनि एमालेमा केन्द्रीय सदस्य बन्नयोग्य नेता हुन् । ओलीको रोजाइमा परिने विश्वासका साथ महाधिवेशनमा भाग लिन पुगेका उनको नाम केन्द्रीय सदस्यको लिष्टमा अटेन । चितवनमा ओलीको सूचीमा नपरे पनि मनोनीत कोटाबाट केन्द्रीय सदस्य बन्ने आशा गरेर काठमाडौँ आएका उनी निराश भएर फर्किएका छन् ।
कञ्चनपुरका डा. दीपकप्रकाश भट्ट एमालेमा पछिल्लो पुस्ताका आशालाग्दा युवा नेता हुन् । समकालीन राजनीतिको वस्तुनिष्ठ विश्लेषण गर्न सक्ने उनलाई बौद्धिक नेताका रूपमा पनि लिइन्छ । युवा पुस्ताको समेत प्रतिनिधित्व गर्न सक्ने नेताका रुपमा हेरिएका उनलाई पनि केन्द्रीय सदस्यमा लगिएन ।
कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेका कैयौँ नेतालाई अपमानजनक ढंगले पार्टीको जिम्मेवारीबाट मिल्काइँदा वाम आन्दोलनमा सिन्कोसम्म नभाँचेका धेरै नवप्रवेशीले भने केन्द्रीय कमिटीमा स्थान बनाएका छन् । कसैलाई चितवनबाटै र केहीलाई अस्तिको बैठकबाट केन्द्रीय सदस्य बनाएर पुरस्कृत गरिएको छ । अध्यक्ष ओलीलाई ‘बा’ भनेरै केन्द्रीय कमिटीमा पुग्ने धेरै जना छन् । जसमध्ये ओलीको गृहजिल्ला झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक हुन् ।
एमाले बनेको अढाई महिनामै केन्द्रीय कमिटीमा उक्लिन सफल उनको योग्यता भनेको अध्यक्ष ओलीको मन जित्नु मात्रै हो । कुनै बेला राजाको प्रशंसा गरेर चर्चामा आएकी गायिका तथा समाचार वाचिका कोमल वली पनि एमालेको केन्द्रीय सदस्य बनेकी छन् । एमाले प्रवेश गरेलगत्तै राष्ट्रियसभा सदस्य बनेकी उनलाई अध्यक्ष ओलीको आशीर्वाद मिलेकै कारण कम्युनिष्ट पार्टीको उपल्लो निकायमा जिम्मेवारी मिलेको हो ।
नरेश खरेल, मनकुमार, धर्मराजजस्ता पुराना एमाले नेताका लागि ढोका बन्द भएको एमालेमा पूर्वमाओवादी नेता भने खोजीखोजी माथि तानिएका छन् । बालकृष्ण ढुंगेललाई रातो कार्पेट ओछ्याएर स्वागत गरिँदा १० बुँदे पक्षधर भनिएकाहरूलाई पनि सौतेलो व्यवहार गरिएको गुनासो छ ।
टिप्पणीहरू