आरएनएसीको मुख्यालयमा निजीकरणदेखि विमान र उडान विस्तारका चर्चा

आरएनएसीको मुख्यालयमा निजीकरणदेखि विमान र उडान विस्तारका चर्चा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताउनुभएको छ ।

निगमको मुख्यालयमा आयोजित व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भए पनि आफूले रोक्ने विश्वास व्यक्त गर्नुभएको हो ।

यसअघि निगमलाई कम्पनी मोडलमा निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी संगठनले १ सय ४ दिनसम्म आन्दोलन गरेका थिए । महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन गरेका हुन् । पौडेल १ सय २ दिनसम्म कार्यालय पुग्न नसेको अवस्थामा पर्यटनमन्त्रीले कर्मचारी युनियनहरुसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

आन्दोलन स्थगित भएपछि कर्मचारीहरुको भावनाबमोजिम निगमको कार्यकारी अध्यक्षमा निगमकै अवकाशप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरियो । महाप्रबन्धकलाई अहिले मन्त्रालयमा हाजिर गराइएको छ । अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम समेत भइरहेको बताइएको छ ।आजको अन्तरक्रियामा पर्यटनमन्त्री आलेले निगमलाई कुनै हालतमा निजीकरण नगर्ने घोषण गर्दै यसअघि निजीकरण प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेरै सुनाउनुभएको थियो । यसअघिको व्यवस्थापनले निगम निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना भने पठाएको थियो ।

पर्यटनमन्त्री आलेले १२ सयभन्दा बढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय रहेको उल्लेख गर्दै त्यति ठूलो जनशक्तिलाई कसरी उपयोग गर्ने ? भन्दै प्रश्न गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर भए पनि प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रन जरुरी भएको छ ।’

मन्त्रीले निगमका जहाजलाई त्रिपालले छोपेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन समेत दिनुभभएको छ ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने पनि बताउनुभयो । निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । पर्यटनमन्त्रीले आफू नेतृत्वमा रहुन्जेल निगम सञ्चालक समितिमा निजी क्षेत्रका कुनै पनि प्रतिनिधि रहन नदिने प्रतिबद्धता जनाउनुभयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट

पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्र्याउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिनुभएको छ । निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउँदै आएको थियो । उहाँले वैदेशिक रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न पनि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिनुभयो । उहाँले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविश्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध समेत गर्नुभएको छ ।

निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा समेत यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै अध्यक्षले यसबाट निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जहाज खरिदका लागि १५ अर्ब माग

निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँको माग गरेको छ । अध्यक्ष अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवद्र्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको मन्त्रीसमक्ष जानकारी गराउनुभएको हो ।

उहाँले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम सञ्चालक समितिले निर्णय गरेर पर्यटनमन्त्रीसमक्ष पेश गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निगमको अहिलको ऋण दायित्व खराब अवस्थामा छ । उक्त रकम पुँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौँ, यसले निगमलाई हालको घाटाबाट निगमलाई मुक्ति दिलाएर व्यावसायिक लाभ हासिल गर्न सहयोग पुग्छ ।’

टिप्पणीहरू