जुम्लाका महिला घरभित्रै असुरक्षित

जुम्लाका महिला घरभित्रै असुरक्षित

जुम्लामा अधिकांश महिला घरेलुहिंसा पीडित रहेको पछिल्लो तथ्यांकले देखाएको छ । महिला हिंसाको घटनामा बढी श्रीमानकै संलग्नता पाइएको छ ।

कूल हिंसा प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमानबाट पीडित हुने गरेको देखिएको छ । त्यसैगरी १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाटै महिलाहरु हिंसामा पर्ने गरेका छन् ।

चन्दननाथ नागरपालिका–१, ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । तातोपानी गाउँपालिकामा जन्मिएकी २२ वर्षीया उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् ।

सुनिताबाट एक छोरी जन्मिएपछि उनका श्रीमान लोकेन्द्रले चन्दननाथ– १० कि सूचना कामीसँग दोस्रो बिहे गरे । दोस्रो बिहे गरेकी सूचनाबाट पनि एक छोरी जन्मिएकी छन् ।

लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भएपछि उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्टाएर राखिदिएका छन् । अहिले सुनिताको साथमा तीन वर्षकी छोरी र पेटमा ८ महिनाको गर्भ रहेको छ । उनलाई श्रीमानबाट मात्र होइन सासुले समेत असहयोग गरेको बताइन्छ । यस्तै चन्दननाथ नगरपालिका ६ की कल्पना शाही (रावल ) पनि घरेलुहिंसा पीडित महिला हुन् ।

उनका दुबै गोडा राम्रोसँग टेकिँदैन । त्यसैबाट अपांगता भएकी उनीसँग अपांगताको परिचय खुल्ने कुनै पनि प्रमाणपत्र र नागरिकता समेत छैन । आफू तीन महिनाकी हुँदा आमा बितेको बताउने उनलाई आफ्नै उमेरको पत्तौ छैन । आमा बितेपछि बुबाले सौतेनी आमा भित्र्याएका थिए ।

‘जन्म दिने आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याउनुभयो । उपचार गर्ने कोही भएन । आमा बितेपछि घरमा स्याहारसुसार गर्ने कोही पनि भएनन् । त्यही बेलामा चुलोको आगोले गोडा पोल्यो । तर, उपचारको अभावमा अहिले टेक्ने भाग नै छैन,’ उनले भनिन्, ‘सौतेनी आमाको किचकिचले सौतामाथि नै बिहे गरेँ ।’

कर्णबहादुर रावलले कुइरी रावलसँग बिहे गरेको २० वर्षसम्म सन्तान नजन्मेपछि जेठी श्रीमतीले नै कल्पनालाई फकाएर विवाह गराएकी हुन् । उनले ४६ वर्षीय कर्णबहादुरसँग विवाह गरेको दुई वर्ष भइसकेको छ । दुई छोरा जन्माएकी कल्पनालाई अहिले श्रीमान र सौताले बेवास्ता गर्न थालेका छन् । बच्चा जन्माउनकै लागि आफूसँग विवाह गरेको र बच्चा जन्मिएपछि श्रीमानले हेलाँ गरेको उनको गुनासो छ ।

महिला हिंसामा परेका यी प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्याङ्कमा २०७६ सालदेखि हालसम्म घरेलु हिंसाका मात्र ९८ वटा उजुरी परेका छन् । प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरीले हिंसा मच्चाउनेहरू सबैभन्दा बढी श्रीमान र घरपरिवारका सदस्य नै रहेको जानकारी दिनुभएको छ ।

घरेलुहिंसामा परेका महिलाहरूले आत्महत्या समेत गर्न थालेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा ११ वटा, २०७६/७७ मा नौवटा, २०७७/७८ मा १४ वटा र चालु आर्थिक वर्षमा तीनवटा गरी तीन वर्षयता घरेलु हिंसामा परेका ३७ जना महिलाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ ।

टिप्पणीहरू