रविन्द्र मिश्रले पृथ्वीजयन्ती मनाउने

रविन्द्र मिश्रले पृथ्वीजयन्ती मनाउने

गणतन्त्र विरोधीको आरोप खेपिरहेको रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्वर्गीय राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने भएको छ । पार्टीको हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता विदास मनाउने निर्णय गरेको हो ।

दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् । उनका अनुसार कञ्चनपुरबाट पुस २७ गते सुरु हुने यात्रा सहिद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य हुने छ ।

यात्राको विस्तृत विवरणपछि प्रकाशित गरिने उनले बताएका छन् । नागरिकका आ–आफ्ना वैचारिक दृष्टिकोण भए पनि ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवद्र्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आमसर्वसाधारणसम्म पु¥याउनु, पार्टीको आमनागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिकरूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु एकता यात्राको मूल उद्देश्य हुने पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘देशको स्वार्थ गौण र राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा एकतर्फ नेपालको स्वाभिमान अत्यधिक रूपमा क्षयीकृत हुँदै गएको र राजनीतिकर्मीहरूले देशलाई शीरमा नराख्दा सुशासनको अपेक्षा गर्न नसक्ने स्थितिमा हामी पुगेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबैभन्दामाथि देश नै हो भन्ने भावना हामी सबैमा जागृत हुनुप¥यो । सो भावना प्रवद्र्धनको शुभारम्भ गर्ने दिन राष्ट्रिय एकता दिवस बाहेक अर्को हुन सक्दैनथ्यो ।’

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई लिएर पछिल्लो समय विवेकशील साझामा चर्को विवाद छ । अध्यक्ष मिश्रले केन्द्रीय समिति बैठकबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीसहितको राजनीतिक प्रस्ताव पारित गराएपछि उत्पन्न विवादले विवेकशील औपचारिक विभाजनको अन्तिम डिलमा पुगेको छ । असन्तुष्ट मिलन पाण्डे समूहले मिश्रको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी घोषणा गरेको छ भने मिश्र समूहले संयोजक पाण्डेलाई कारवाही गरेको छ ।

आज मात्रै सो पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् ।

टिप्पणीहरू