कालिकोटका सबै स्थानीय तहमा सडक पुग्यो
कालिकोटका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालमा जोडिएका हुन् ।
जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जाल जोडिएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताउनुभयो । खाडाचक्र नगरपालिकामा पनि ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया बिष्टले जानकारी दिनुभएको छ ।
यस्तै, तिलागुफा नगरपालिकाका ११ वटै वडा सडक सञ्जालले जोडिएको नगरपालिका प्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयो । सान्त्री त्रिवेणी गाउँपालिकाका नौवटै वडा, पलाँता गाउँपालिकाका नौवटै वडा, पचालझरना गाउँपालिका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् ।
नरहरिनाथ गाउँपालिकाका नौ वटामध्ये पाँच वटा वडा सडक सञ्जालले जोडिएको छ । बाँकी चार वटा वडामा चालु आर्थिक वर्षमा सडक सञ्जाल जोडिनेगरी धमाधम काम भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर ८ र ९ लालु, वडा, १, २ र ३ कोटबाडा–कुमालगाउँ सडकले जोडिएको छ । तर वडा नम्बर ४, ५ को रुप्सा र वडा नम्बर ६, ७ को माल्कोट सडक सञ्जालमा जोडिन बाँकी छ ।
शुभकालिका गाउँपालिका र महावै गाउँपालिकाका केही वडाबाहेक अन्य वडा सडक सञ्जालले जोडिएको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा सबै वडामा सडक पु¥याउने लक्ष्य राखिएको छ ।
टिप्पणीहरू