रक्त क्यान्सरको सर्वसुलभ उपचार नेपालमै सम्भव
पछिल्लो केही समययता नेपालमा रक्त क्यान्सरका संक्रमितहरुको संख्या बढ्दो छ । समयमा उपचार नपाएर रक्त क्यान्सरकै कारण ज्यान गुमाउनेको संख्या पनि अत्याधिक छ । तर, विज्ञहरुले समयमै यस रोगको पहिचान र उपचार सुरु गरिए गुणस्तरीय र सुलभ उपचार नेपालभित्रै सम्भव भएको दाबी गरेका छन् ।
कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका बिरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा. अजय कुमार झाले सो कुरा भन्नुभएको हो । उहाँका अनुसार समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके नेपालभित्रै यसको सुलभ र गुणस्तरीय उपचार सम्भव हुन्छ ।
‘रक्त क्यान्सरका बिरामीहरू रोग पहिचान गर्नमा ढिलाइ हुने हुँदा उनीहरूको उपचार महंगो हुनुको साथै नतिजा पनि हात नआउने भएकाले समयमै पहिचान र उपचार सुरु गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान र उपचार भएमा रक्त क्यान्सर निको हुन्छ,’ उहाँले भन्नुभयो ।
हाल रक्त क्यान्सरका बिरामीहरूको उपचारको लागि विज्ञ चिकित्सक अत्यन्तै न्यून रहेको र उनीहरू पनि काठमाडौं उपत्यकाका सीमित रहेकाले उपचारमा बिरामीको पहुँच कठिन रहेकाले छ । यसलाई तोड्न सो क्षेत्रका विज्ञहरुले माग गरेको छन् ।
स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यबाट कम खर्चमा रक्त क्यान्सरको उपचार गर्नेगरी रणनीतिक योजना निर्माण गर्न आवश्यक रहेको उनीहरुले बताएका छन् ।
रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भनिन्छ । सामान्यतया रक्त क्यान्सर दुई प्रकारका हुन्छ । एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया १६ वर्ष उमेरमुनिका बालबालिकामा धेरै देखिन्छ । साथै प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७५ प्रतिशत बिरामी क्यान्सर मुक्त हुन सक्नेछन् ।
टिप्पणीहरू