मुखमा लाउन माड छैन, कुन्नी केमा लाउन जाइफल
आफूलाई वामपन्थी भन्ने दल कस्तो चरित्रको भयो भने वामपन्थीजस्तो देखिन्छ ? र, जनताले वा गैरवामपन्थीहरुले पनि उसलाई वामपन्थी भनेर मान्छन् होला ? केही समय पहिले एमालेका नेता घनश्याम भुसालले एक टेलिभिजन अन्तर्वार्तामा समयअनुसार वामपन्थी चरित्र फरक हुने बताएका थिए । उनले त्यतिबेलाको सोभियत संघको, माओकालीन चीनको, उत्तर कोरियाको अनि नेपालकै पनि २००६ साल र आजको वामपन्थी चरित्र उस्तै नहुने जिकिर गरेका थिए ।
भुसालको भनाइ थियो– आजको वामपन्थ महिला हितैषी, मजदुर किसान हितैषी, दलित एवम् जनजाति हितैषी हुनुपर्छ । तर, के एमाले यस्तै छ त ? भन्ने प्रश्नमा उनको जवाफ थियो– यस विषयमा बहस गर्न सकिन्छ ।
समाजलाई बदलेर अधिक आर्थिक विकास गर्ने तथा वर्गीय समानताको उद्देश्य लिने विचारधारालाई वाम विचारधारा भनिन्छ । यस्तो विचारधारा अंगाल्ने दल सामान्यतयाः वामपन्थी हुन्छ । आमरुपमा वामपन्थीले न्याय, समानता, अधिकार, प्रगति, परिवर्तनजस्ता विषयहरुलाई जोड दिन्छ । शोषण र अन्यायको विरुद्धमा आफूलाई हरबखत खडा राख्छ ।
छुवाछूत, नातावाद र कृपावादको विरुद्धमा उभ्याउँछ । सबैको निम्ति सबै कुरामा न्याय र समानताको वकालत गर्छ, संघर्ष गर्छ । हरेक वामपन्थी चाहे त्यो पार्टी होस् अथवा व्यक्ति, उसले आफ्नो श्रमबाट जीविका चलाउँछ । कमाई गरेवापत राज्यलाई कर तिर्छ । अनुचित मार्गबाट सम्पत्ति जोड्ने काम गर्दैन, घुस खाँदैन । छुवाछूत तथा जातीय विभेदको बिरोधमात्रै होइन कि आफू स्वयम्ले विभेदकारी व्यवहार गर्दैन । महिलामुक्ति र समानताको निम्ति लड्छ ।
के यी र यस्ता चरित्र नेपालका कम्युनिष्ट पार्टी र ती पार्टीहरुमा आवद्ध मानिसहरुमा छ अथवा भेटिन्छ त ? सायद यस्तो गुण एमालेमा र यसका र्याङ्क एण्ड फाइलमा कम भेटिने वा नकारात्मक जवाफ प्राप्त हुने भएकोले नै हो कि वामपन्थ समय, काल र परिस्थितिअनुसार फरक हुन्छ र यस्तो चरित्र एमालेमा छ कि छैन त भन्ने बारेमा बहस गर्न सकिने छ भनेर भुसालले स्वीकारेका छन् ।
मुलुकमा हाल क्रियाशील सबै कम्युनिस्ट पार्टीहरुले गास, बास र कपासको मुद्दालाई विगतकालमा उठाएको कुरामा दुईमत छैन । शिक्षा र स्वास्थ्यको विषयमा पनि बोलेकै हुन् । तर, जब देशमा बहुदलीय व्यवस्थाको स्थापना भयो र संसदीय चुनावमा कम्युनिष्ट पार्टीहरुले भाग लिएर सत्तामा जान शुरु गरे त्यसपछि भने गास, बास र कपासको नारा उनीहरुको मेनिफेस्टोबाट हराएको छ । जनवादी शिक्षाको माग हराएको छ ।
स्वास्थ्यमा आमजनताको पहुँचको मुद्दा हराएको छ । सुन्दा कर्णप्रिय लाग्ने र मन खुशी हुने ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा अहिले जोडतोडले अघि सारिएको छ । तर यो कसरी हासिल हुन्छ भनेर कतै भनिएको छैन । भनिएको कस्तो छ भने, पानी जहाज चल्छ, चुच्चे रेल चल्छ, घरघरमा ग्यासको पाइप जोडिन्छ आदि इत्यादी ।
पानी जहाज, रेल नचल्ने होइन । ग्यास पाइप पनि जोड्न नसकिने होइन, सकिन्छ । तर के यहि हो त सुखी र समृद्ध बनाउने सुत्र ? र, यो सजिलोसँग र छिटो समयमा निर्माण गर्न सकिन्छ ? यो नाराले जनताको आजको आवश्यकताको मुद्दालाई सम्बोधन गर्छ ? शिक्षाको नीजि र बजारीकरण गरेर सबैलाई समान र जनवादी शिक्षा उपलब्ध गराउन सकिन्छ ? समग्र स्वास्थ्य क्षेत्रलाई पूँजीपतिहरुको जिम्मा लगाएर स्वास्थ्यमा गरिबको पहुँच पु¥याउन सकिन्छ ? देशमा उद्योग कलकारखाना खोल्ने, सिँचाई र बिजुलीको व्यवस्था गर्नेतर्फ जोड देखिँदैन ।
कतिसम्म गरियो भने, लकडाउनको बेला कम्युनिष्टको सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरुलाई उद्धार गर्ने नाममा महँगो भाडा असुली गर्न जहाजलाई रित्तै उडाइयो । हुनेखानेका छोराछोरीलाई निःशुल्क जहाज उपलब्ध गराइयो तर मजदुरी गर्न गएका गरिबहरुसँग चल्तिको दरभन्दा दोब्बर बढी भाडा असुली गरियो र त्यो काममा मन्त्री स्वयम् सहभागी देखिए ।
कोभिडको उपचारमा पनि उत्तिकै महँगो शुल्क असुल गरियो । यसलाई यसरी प्रश्न गर्न सकिन्छ – कम्युनिष्ट पार्टीहरु र खास गरेर एमालेको समाजवादी अर्थनीति, औद्योगिक नीति कस्तो छ ? शिक्षा तथा स्वास्थ्य नीति कस्तो छ ? अनि कृषि नीति, रोजगार नीति, बजार नीति, जलस्रोत नीति, भूमि नीति, प्राकृतिक स्रोतसाधनको उपयोग नीति के हो वा छ त ? यदि छ भने कस्तो छ ? जवाफ छैन ।
भन्नैका लागि त सबैले गरिब र मजदुरको पार्टी भनेकै छन् । तर, पार्टीका नेता र कार्यकर्ताहरुको जीवनशैली, आचरण, व्यवहार र संगत के वामपन्थी चरित्रको छ ? यहाँ पनि जवाफ हुन्छ– छैन । अधिकांश नेताहरु उत्पादन कार्य वा प्रणालीसँग आबद्ध छैनन् । दलाल पुँजीपतिहरुसँग उठबस छ । अधिकांशको घरजग्गा कारोबारमा, शेयर खरिद बिक्रीमा, ठेक्कापट्टामा र बिचौलियाको काम गरेर पैसा कमाउने धन्दामा संलग्नता पाइन्छ । उत्पादन वा श्रम गरेर होइन कि वित्तिय पूँजीलाई घुमाएर बाँचेका देखिन्छन् ।
तर, ओैद्योगिक पुँजी, राष्ट्रिय पुँजीको निर्माण गर्ने र समाजवादको जग हाल्ने चर्का कुरा यिनैबाट सुनिन्छ । जीवनशैलीको त कुरै नगरौं, विशुद्ध वर्गबाट आएका भनिएका मानिसहरु नै रातारात महलमा पुगेका र पजेरोमा डुलेका देखिन्छन् । एमालेलगायत सबैजसो वामपन्थी दलको चरित्र र व्यवहार यस्तै नै छ र नेपाली वामपन्थको समस्या पनि यहि नै हो ।
कि विगतको विरासतको कुरा गर्ने नभए भविश्को सपना बाँड्ने अनि मायाजाल सृजना गर्ने देखिन्छ । तर वर्तमानको भने कुरै नगर्ने प्रवृत्ति बढेको छ । आज खाना पकाउन ग्यास छैन तर कुराले भने घर घरमा ग्यासको पाइप पुर्याइदिने भन्ने खालको छ । यस्तो कामलाई हिन्दीमा ‘जुमला’ भन्छन् र भन्नेलाई ‘जुमलेवाज’ !
टिप्पणीहरू