ताकमकोत किन छायाँमा पर्यो ?

ताकमकोत किन छायाँमा पर्यो ?

-अमृत बास्कुने

हिमाली जिल्ला म्याग्दीको पश्चिम धवलागिरि गाउँपालिका–७, ताकममा रहेको ऐतिहासिक ताकमकोत छायाँमा परेको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि त्यसको थप प्रचार प्रसारको आवश्यकता देखिएको हो । ताकमकोत परिसरसम्मै पुग्ने सडक तथा पदमार्गको सहज पहुँच विस्तार भए पनि उचित प्रचार नहुँदा पर्यटकहरुको चहलपहल सोचेजस्तो बढ्न सकेको छैन ।

समुन्द्री सतहबाट झण्डै दुई हजार पाँचसय मीटरको उचाइमा अवस्थित ताकमकोत मनोरम दृश्यावलोकनका लागि उपयुक्त स्थान हो । यो क्षेत्रमा बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन थापा राजाहरुले राज्य सञ्चालन गरेका थिए । पछि मल्ल राजाहरुले आक्रमण गरेर जितेपछि ताकमलाई ऐतिहासिक पर्वत राज्यमा गाभिएको हो । ताकमकोटमा हालसम्म पनि पुरातात्विक महत्वका विभिन्न हातहतियार सुरक्षित रहेको स्थानीय युवा दिनेश खत्री बताउँछन् ।

ताकममा बडादसैँमा नवदुर्गाको पूजाआजा गरी पाठो,भेडा र राँगोको बलि दिने गरिन्छ । भाकल तथा बाख्राको पाठोलाई ओदानमा, भेडालाई आलमथानमा र राँगोलाई कुण्डमा बलि दिने परम्परा रहेको स्थानीय युवा गोपाल आचार्यले जानकारी दिए । उनका अनुसार नवदुर्गामा राँगो,पाठो,भेडा,परेवा र फुर्सेसहित पञ्चबलि दिने गरिन्छ ।

ताकम कोतभित्रको मन्दिरमा जगन्नाथ,अन्नपूर्ण,भगवती, नरसिंहका मूर्ति तथा छेला,खुँडा, तरबारलगायत हातहतियारहरु रहेको कोतका पुजारी दलबहादुर थापाले जानकारी दिनुभयो । उक्त मन्दिरमा परापूर्वकालदेखि नै थापा थरका पूजारीले पूजाआजा गर्ने चलन छ ।

कोत परिसरबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमाल, दशौं अग्लो चुचुरो अन्नपूर्ण तथा माछापुच्छ्रे, निलगिरि, मानापाथी, गूर्जा, चुरेनलगायत दजनौं हिमश्रृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यसैगरी यहाँबाट ताकमसहित मुनाको मालिका, मुदीको बगरा, मालिका गाउँपालिकाको देवीस्थान, देवीस्थानको मामा–भाञ्जा काटाकाट गरेको धुरीलगायत ग्रामीण बस्तीको सुन्दरताका साथै डाँडाकाँडाहरु समेत देखिन्छन् ।

धार्मिक दृष्टिकोणका हिसाबले पनि ताकम कोत महत्वपूर्ण मानिन्छ । ऐतिहासिक ताकम कोत क्षेत्रको भ्रमण गर्दा उक्त क्षेत्र निकै आकर्षक र मनमोहक देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका प्रमुख समेत रहेका आन्तरिक पर्यटक युक्तप्रसाद शर्माको अनुभव छ ।

पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणस्थल बढ्दै जान थालेपछि ताकमकोत परिसरमा मन्दिर, सत्तल, पदमार्गलगायत संरचनाको निर्माण गरिएको छ । ताकम घनाबस्ती विस्तार कार्यक्रममार्फत पदमार्ग निर्माण तथा घनाबस्ती कार्यक्रम र ताकमकोत मन्दिरको कोषबाट मन्दिरसम्म सडकको पहुँच विस्तार गरिएको छ । पछिल्लो समय धवलागिरि गाउँपालिकामा कार्यक्रम लिएर जाने विभिन्न संघसंस्था, सरोकारवाला निकाय तथा व्यक्तिहरु पनि उक्त मन्दिरमा पुग्न थालेका छन् ।

पछिल्लोपटक ताकमकोत परिसरमा आन्तरिकसँगै वाह्य पर्यटकहरुको पनि चहलपहल बढ्दै गएको स्थानीयवासीको भनाई छ । अहिले पुरातत्व विभागको आर्थिक सहयोगमा ताकमकोतमा धार्मिक पर्यटकलाई लक्षित गरेर मन्दिर निर्माण थालिएको छ भने ताकमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन आवश्यक पहल गरिएको स्थानीयवासी अनिस भण्डारीले उल्लेख गरे ।

म्याग्दीको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै ती क्षेत्रमा पुग्नका लागि पदमार्गलगायत आवश्यक संरचना निर्माणमा निजी क्षेत्रबाट समेत पहल थालिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

टिप्पणीहरू