सरकारमा मन्त्री हेरफेरको सुरसार
संकेतहरु यस्ता–यस्ता आएका छन् कि, फ्याट्टै मन्त्रिमण्डल हेरफेर गरियो भने अचम्म मान्नु नपर्ने !
प्रधानमन्त्री केपी ओलीले अस्ति सोमबार बिहान १० बजेसम्म बालुवाटारमा छलफल गर्नुभयो । जसमा पहिला पार्टी अध्यक्ष प्रचण्डमात्रै हुनुहुन्थ्यो । कुराकानी सिध्याएर उहाँ तीन नम्बर गेट हुँदै बालुवाटार निस्किनुहुँदा पछि–पछि सञ्चारमन्त्री गोकुल बाँस्कोटा थिए । गोकुल सिंहदरबारतिर, प्रम महाराजगञ्जतिर लाग्नुभयो । यसअघि बेल्जियम र लक्जेम्बर्ग भ्रमणमा निस्कन ठिक्क परेका, क्याबिनेटबाट भ्रमण स्वीकृत गरिसकेका अर्थमन्त्री डा.युवराज खतिवडाले जाने अघिल्लो दिन मात्रै यात्रा रद्द गरे । र, ठूला करदाता कार्यालयका प्रमुख (सहसचिव) धनीराम शर्माले सरकारको तर्फबाट त्यहाँ आयोजित सेमिनारमा प्रतिनिधित्व गरेका छन् ।
यसरी अर्थमन्त्री रोकिनुको कारण हो, प्रधानमन्त्रीको निर्देशन । उनले भ्रमण रद्ध गर्नुअघि प्रधानमन्त्रीले बोलाउनुभएको समीक्षा बैठकमा केही कुरा भएको रहेछ । सामान्यतया एउटा आर्थिक वर्षको अन्त्य हुन लाग्दा अर्को आर्थिक वर्षका लागि कार्ययोजना तय गरिने प्रचलन छ । तर, यसचोटि त्यस्तो भएन । बरु, भनियो, आउँदो वर्षमा नयाँ मन्त्री र नयाँ सचिव जुन–जुन मन्त्रालयमा तोकिन्छ, त्यसपछि तिनैसँग छलफल गर्ने † अहिलेकै मन्त्री र सचिव भए, तिनैसँग, अर्को आए अर्कोसँग छलफल गरेर वार्षिक योजना बनाउने गरी प्रधानमन्त्रीले कर्मचारीहरुलाई ब्रिफिङ गर्नुभएको छ । यी कुराले संकेत गर्छन् मन्त्री हेरफेरको तयारी हुँदै छ ।
सरकारले विनियोजन गरेको विभिन्न शीर्षकका रकमहरु मन्त्रालयहरुले करिव–करिव पाइसकेका छन् । आजदेखि, अर्थात् साउन लागेलगत्तै पेश्की भुक्तानीको क्रम शुरु हुन्छ । तर, कार्ययोजनाबिना कुन शीर्षकमा, कसलाई कति पेश्की वितरण गर्ने भन्ने अन्यौल कायम छ । किनभने, नयाँ आउने मन्त्री र सचिवहरुको दृष्टिकोणका आधारमा चल्नुपर्छ भन्ने संकेत कर्मचारीहरुलाई समीक्षा बैठकमा दिइएको छ ।
टिप्पणीहरू