नामै गुप्त, कामै गुप्त– सही सूचना लुप्त
जतिसुकै तर्किए पनि, दायाँ र बायाँ फर्किए पनि सुरक्षा, रोटी, बेटी र पानीले जोड्ने नाता न हो, भारतले नेपाललाई बेवास्ता गर्नै सक्दैन । पछिल्लो उदाहरण हो, कार्यभार सम्हालेको २४ सै दिनमा भारतीय गुप्तचर प्रमुखले पहिलो विदेश भ्रमणका रुपमा नेपाल रोज्नु । ‘र’ प्रमुख सामन्त गोयल सत्तारुढ दुवै र प्रमुख प्रतिपक्षका एकल अध्यक्षलाई भेटेर सोमबार २ बजे दिउँसो नेपाल वायुसेवाको उडान नं. आरए२१७ बाट स्वदेश फर्किएका छन् । उता दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले विदेशमन्त्री एस.जयशंकरसँग शिष्टाचार भेट माग्दासमेत दिइएको छैन । इपिजी प्रतिवेदन तयार भएर थन्किएको नौ महिना कटिसक्यो, प्रधानमन्त्री मोदीले प्रतिवेदन बुझ्न समय दिनुभएको छैन । तर, ‘र’ का प्रमुख २४ सै दिनमा नेपाल आउनुले नेपालप्रति भारतको चासो उत्तिकै छ भन्ने जनाउँछ । सँगसँगै यसबीच भएका बेग्लाबेग्लै भेटघाटले संशय, शंकाको वातावरण जन्माउने खतरा रहन्छ । यद्यपि, तर्सिहाल्नुपर्ने कुरा खासै देखिँदैन । यस्ताखाले संस्थाले ‘अण्डरकभर’, अर्थात्, अर्कै भेषमा काम फत्ये गर्छन्, आफ्नै प्रविधि र जनशक्तिमार्फत कार्यसम्पादन गरिरहेका हुन्छन् ।
यही मेसोमा नेकपाभित्र केही विवाद चलिरहेको छ । ‘र’ प्रमुखको भ्रमणलाई यताबाट पनि जोडेर हेर्ने गरिन्छ । हालका स्टेशन म्यानेजर अभिजित हल्दरको तर्फबाट दूतावासमा आइतबार बेलुका ७ बजेदेखि डाकिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको सहभागिता रह्यो । भोलिपल्ट सोमबार बिहान ८.३० देखि ९.४० सम्म नेकपा अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा भेट भयो । उक्त भेटलगत्तै राजदूत मञ्जिवसिंह पुरीले हायात होटल पुगेर १०ः२० देखि ११ः४५ सम्म ‘र’ प्रमुखलाई ब्रिफिब दिए । उक्त भेटमा पहिला विवेक जोहरी नेपालको निम्ति स्टेशन म्यानेजर हुँदाका सेकेण्डम्यान अरुण जैन, शशिभूषण सिंहसहित थिए । शनिबार बेलुका ६ः२० मा ‘र’ को टोली नेपाल छि¥यो र लगत्तै प्रधानमन्त्रीसँग सँगै खान रहर ग¥यो ।
यस्ता भेटघाटले आशंका जन्माउने कुरा त छँदैछन् । तर, आफ्नो थैली बलियो छ भने बाहिर जसले जे प्रचार गरे पनि, फाटो देखाउन खोजे पनि सम्भव हुँदैन । नेपालले अख्तियार गरेको नीतिअनुसार कुनै पनि विदेशी भेट्दा परराष्ट्रको च्यानल प्रयोग गर्नुपर्छ र उसका प्रतिनिधिलाई साथै राख्नुपर्छ । तर, त्यसको परिभाषा अधुरो भएको हो या कूटनीतिक नियोगका अधिकारी भेट्दा मात्र यस्तो नीति अख्तियार गरिने हो? किनभने, भारतीय गुप्तचर संस्थाका प्रमुख कूटनीतिक नियोगका अधिकारी हैनन् । नामै गुप्त, कामै गुप्त । तर देशवासीले यस्ता भेटवार्तासम्बन्धी जानकारी मागे भने बताउने कसले?
टिप्पणीहरू