नेपालको गरिबी घटाउन चीनको ७ करोड खर्च
चीनले पछिल्लो छ वर्षमा नेपालको गरिबी घटाउने उद्देश्यले वार्षिक औसत पाैने करोड रुपैयाँ खर्चेको छ । चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन (सीएफपीए) ले सन् २०१५ देखि हालसम्म नेपालमा ६ लाख अमेरिकी डलर खर्च गरेको जानकारी दिएको छ । यो रकम नेपालीमा झण्डै ७ करोड रुपैयाँ हो ।
२०७२ को विनाशकारी भूकम्पपछि नेपालका विभिन्न परियोजनामा उक्त रकम खर्च गरेको उक्त संस्थाले जनाएको हो । सीएफपीएले नेपालमा विशेषतः आपतकालीन उद्धार र संक्रमणकालीन पुनर्बास, विपद्पछिको व्यवस्थापन, सामुदायिक विकास र कोभिड–१९ महामारीको रोकथामका क्षेत्रमा केन्द्रित गर्दै आएको बताइन्छ । जसबाट ८ लाख ८० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको दाबी गरिएको छ ।
सिएफपीए नेपालको छैठौं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी र चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालको उपस्थितिमा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै पूर्वराजदूत पौड्यालले चीनको गरिबी उन्मूलनको अनुभवले नेपाललाई गतिलो पाठ सिकाउन सक्ने बताउनुभएको थियो ।
स्रोत : सिन्ह्वा
टिप्पणीहरू