केटी बेच्नेलाई यस्तो छुट किन ?

  • नारायण नेपाल

न्याय भनेको कानुनको सिद्धान्त हो । जसको मद्दतले निष्पक्षताको पालना गरिन्छ । राज्य परस्परविरोधी समाजमा एक वर्गको विचारमार्फत अधिनायकत्व लाद्ने साधन हो भने कानुन त्यही आदर्शबाट प्रेरित नहुने कुरै हुन्न । मलाई यो देशको संविधान, कानुन र न्याय प्रणालीमा भरोसा गर्दै अदालत आइपुगेका चेलीको आस्था कसरी बलात्कृत भएर बाँचेको होला भन्ने चिन्ता लागेको छ । अन्धा कानुन नामक भारतीय चलचित्रमा किशोर कुमारको यो गीत सम्झँदै अदालतले सुनपानी छर्किएर चोख्याएको दलाल सुनबहादुर र राजनीतिसम्बन्धी एक सत्य कथा खोतल्ने जमर्काे गरेको छु :

ए अन्धा कानुन है
जाने कहाँ न्याय लेंगे
जाने कैसे सजायँ देगें
साथ नदे कमजोरोंका
ए साथी हे चोरोंका
बात और दलिलोंका
ए हे खेल वकिलोंका
ए इन्साफ नहीं करता

यही गीतमा झंै यसपटक पाटन उच्च अदालत बेचिएका चेलीलाई न्यायभन्दा पनि दलाललाई सुनपानी छर्किएर चोख्याउनतर्फ उद्यत रह्यो । सुनबहादुर तीन जना पीडित महिलाले जाहेरी दिएपछि पक्राउ परेका थिए । पक्राउ परेपछि नै उनले मुम्बईमा चारवटा कोठी सञ्चालन गर्दै आएको प्रमाण बाहिरिएको थियो । नुवाकोटका जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले ०७४ सालमा उनलाई ३७ वर्ष ६ महिना कैद सजायँँ र २ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । त्यो फैसलाविरुद्ध सुनबहादुर उच्च अदालत गए । त्यही क्रममा जेठ ३० गते न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजालसले सुनबहादुरलाई सफाइ दिएको हो । 

पीडितका अनुसार सुनबहादुरले भारतको विभिन्न शहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै छन् । सुनबहादुरको पेसा नै चेलीबेटी बेच्ने हो । उनी बम्बईवाला साहु हुन् गाउँले भाषामा । चेलीका होलसेल व्यापारी सुनबहादुरको जेल र रिहाइको पटके खेल जारी छ । कानुन र कागज पुगेन होला, न्यायाधीशका छोरीहरू बेचिएनन् होला । तर, गरिब गाउँलेका छोरीचेली बेचिने श्रृंखला निरन्तर छ । ०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको थियो । नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई भारत लैजाँदै गर्दा उनीसहित तीनजना प्रहरीको आँखा छलेको नाटक गरेर मिलेमतोमा फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो, जो अदालतको आदेशबाट जेल चलान भए । नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्षको कैद सजायँ सुनायो । तर, उनी फरार नै रहे । नुवाकोट घ्याङफेदीकै दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे । प्रहरीले उनलाई पक्राउ ग¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा छुटे । त्यसबेला मुद्दा कमजोर बनाउन पीडितलाई आस र त्रासको खेती गर्दै अदालतमै उपस्थित हुन दिएनन् ।

प्रहरीको दाबीअनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोनागाछी–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोनागाछीमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् । यो रामकहानी चटक्कै भुलेर श्रीमान्हरूमा सुनबहादुरलाई सुनपानी छर्कने आँट कताबाट पलायो ? पीडितले नै सशरीर उपस्थित भई आफूलाई प्रमाणका रूपमा प्रस्तुत गरिसकेपछि जिल्ला अदालतले गरेको फैसला कसरी उल्ट्यायो ? सर्वत्र प्रश्न सिर्जना भएको छ । बहसको चुरो यही हो । भनिन्छ, संसारमा सबैभन्दा धेरै झुट बोल्ने स्थान अदालत हो भने सत्य बोल्नेचाहिँ भट्टी पसल हो । यो भनाइ फेरि एकपटक सत्य सावित हुन खोज्दै छ । अब सुनबहादुर र श्रीमान्हरू सबैलाई तादीको असला माछाको अचारसहित त्यही भट्टीमा राखेर सोध्न पाए सत्य निस्कन्थ्यो कि कञ्चटमा पेस्तोल राखेर सुनबहादुरसँग पैसा माग्नेहरू को–को हुन् ? एक चेली बम्बै पुग्दा कहाँ–कहाँ क–कसलाई भेटी चढाउनुपरेको थियो ? मुद्दाको खेलमा कति सम्पत्ति सकियो ? घ्याङफेदीको कुनामा जन्मेर तादीको भेलभन्दा धेरै पैसाको खोला बगाउने स्रोत के हो र अब कति सम्पत्ति छ ? के यस्तो आदेश पाउन सकिन्छ श्रीमान् ?

सामाजिक सञ्जालमा लेखक, पत्रकार पुरुषोत्तम लम्साल लेख्छन्, ऊबेला हामीले लेखेरै दिएका हौं तल्लो अदालतको आदेशमा धोती लाग्छ भनेर । हिजो बुरुक्क हुनेहरु मात्र आज अचम्ममा परेका हुन् । ०५५ सालको प्रकाश साप्ताहिकमा लेखेको चेली बेच्ने खतरनाक दलाल शीर्षक समाचार अझै स्मृतिमा छ उनको । त्यसपछि कति सञ्चार आए र बिलाए, कति पत्रकार आए, हराए । तर, २० वर्ष पछिसम्म उही र उस्तै प्रकृतिको घटनामा समाचार लेखिरहेका छन्, अमिलो मन बनाएर । कतिपय पत्रकार भने मुख मीठो पारेर कलम बन्द गर्दै बिदा भएका छन् । कथा सत्य छ र पीडा गहिरो पनि । कथा कलंकको पनि हो । विपन्न बस्तीमा बम्बईवालाको शान नुवाकोटको कलंक हो । बम्बैवाला विरोधी हुन् भन्दै जनयुद्धकालमा माओवादी प्रतिकारसम्मका कथा छन् । जनयुद्धताका जनअदालतको लोकप्रिय नारा थियो– माओवादी न्यायाधीश कमरेडहरूलाई मृत्युदण्डसम्म दिने अधिकार थियो । तैपनि त्यत्रो जगजगी कसरी पार गरे होलान् सुनबहादुरले ?

अदालती झमेलामा त पारंगत नै छ, त्यसैले ऊ निर्धक्क छ । आजका सुनबहादुर, मुइचाहरू देखिएका दण्डित अपराधी हुन्, नदेखिएका करिब ३५ जनालाई त राज्यले नै फरारको सूचीमा राखेको छ भने अरू कति होलान् ? नुवाकोटे अबोध चेलीका आँसु बगेको थियो हिजो र आजपर्यन्त तादी र त्रिशूलीमा । सत्ता, शक्ति र पैसाको आडमा बचेका सुनबहादुरहरूले मनाङे शैलीमा नेकपातिर टिकोटालो गरे अन्यथा मान्नु पर्दैन । मुख्य सवाल त बेचिएका चेलीले खरिद गर्न नसकेको न्याय हो । नुवाकोट दरबारमा काटिने शंखमणि राना हुन् कि बेलकोटमा रेटिने जयन्त । ती रानामगरका सन्तान थिए न कि नुवाकोटका तामाङ ।

राहदानी बनाएर संसारभर सस्तो मूल्यमा बेचिने जनता हुन् नेपाली । केन्यामा नेपाली चेलीको यौन धन्दाका समाचार सेलाएको छैन । दलालको प्रलोभनमा राम्रो कामको आसमा ६ महिनाअघि भारत हुँदै कुवेत पुगेकी नुवाकोटे महिलाले शारीरिक तथा मानसिक यातना भोगिरहनुपरेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि उनको उद्धार भएको छ । कुवेतमा बिचल्लीमा परेकी ती महिला नुवाकोट, महाकाली–८ की अनु तामाङ रहिछन् । उनको नेपाल अवतरण भइसकेको छ । विभिन्न प्रलोभनमा विदेश पुग्ने र बिचल्लीमा परेपछि हारगुहार गरेर उद्धार गरी देश फर्कनेहरू ३११ जना रहेको सरकारी तथ्यांक छ । के यो डरलाग्दो चित्र होइन जनता बेचिएको ? सुनबहादुर एक दर्ताविहीन म्यानपावर हो । ल्याण्डक्रुजरको जमानामा नागढुंगाको उकालोमा घ्यारघ्यार गर्ने असी मोडलको थोत्रा ट्रकजस्तो पुरानै शैलीले व्यापार गर्ने केटी व्यापारी, मानवतस्कर । वैदेशिक रोजगारमा पुगेका नुवाकोटकै युवा हरिशरण डोटेलले परदेसिनुको बाध्यता, सामाजिक सञ्जालमा एक मार्मिक गजलमार्फत पोखेका थिए यसरी :

रुँदै जहाज चढेको हुँ देश नछोडी परिवार चलेन ।
मलाई नबेची म्यानपावरको पनि व्यापार चलेन ।

टिप्पणीहरू