यस्तो बन्दैछ माओवादीको केन्द्रीय कमिटी

यस्तो बन्दैछ माओवादीको केन्द्रीय कमिटी

पार्टीका सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)मा ५० प्रतिशत केन्द्रीय सदस्य समावेशी समानुपातिक सिद्धान्तका आधारमा निर्वाचित हुने भएका छन् । काठमाडौँमा जारी आठौँ राष्ट्रिय महाधिवेशनले बिभिन्न क्लस्टर मिलाएर केन्द्रीय कमिटीलाई समावेशी बनाउने विधान पारित गरेको हो ।

बिधानअनुसार अब केन्द्रीय कमिटीमा खुलाबाट ५० प्रतिशत र समानुपातिक समावेशी क्लस्टरबाट ५० प्रतिशत निर्वाचित हुनेछन् । समानुपातिकतर्फ खस-आर्य,दलित, मुस्लिम, मधेसी,आदिवासी जनजाति, थारु, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, युवा र महिलाको प्रतिनिधित्व हुनेछ ।

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व विधानले सुनिश्चित गरेको छ । समानुपातिकतर्फ खस-आर्यबाट ५४ जना निर्वाचित हुनेछन् । जसमा १२ जना पुरुष र २४ जना महिला रहनेछन् । त्यस्तै, पुरुष युवा ३ र महिला युवा ६ जना निर्वाचित हुने व्यवस्था विधानमा छ ।

त्यसैगरी, २२ जना निर्वाचित हुने दलिततर्फ ६ पुरुष र १२ महिलाको प्रतिनिधित्व रहने छ । दलितबाट महिला युवा ३ र पुरुष युवा १ निर्वाचित हुनेछन् । मुस्लिमतर्फ ७ जना निर्वाचित हुँदा १३ जना महिला, ३ जना महिला युवा, १ पुरुष र १ पुरुष युवा समेटिने छन् ।

मधेसीतर्फ २३ जना निर्वाचित हुनेछन् । जहाँ १३ महिला, ६ पुरुष, ३ महिला युवा र १ पुरुष युवाको प्रतिनिधित्व रहनेछ । त्यस्तै, आदिवासी जनजातितर्फ ४३ जना निर्वाचित हुने विधानको व्यवस्था छ । जसमा २३ जना महिला, ११ जना पुरुष, ६ महिला युवा र ३ पुरुष युवा निर्वाचित हुनेछन् । थारूतर्फ १० जना निर्वाचित हुनेमा ६ जना महिला, २ जना पुरुष, १ जना पुरुष युवा र १ जना महिला युवा समेटिने छन् ।

अपाङ्गतातर्फ २ जना निर्वाचित हुनेमा १ पुरुष र १ महिला रहनेछन् । त्यस्तै, पिछडिएको क्षेत्रबाट पनि २ जना निर्वाचित हुनेमा एक-एक जना महिला पुरुष हुनेछन् ।

माओवादीको कूल केन्द्रीय सदस्य २९९ हुनेछ । जसमा खुलातर्फ १४५ जना निर्वाचित हुनेछन् । विधानमा केन्द्रीय समितिले थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

हिजो पारित विधानले समावेसी चरित्रको केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरे पनि कुन विधिद्वारा कमिटी गठन गर्ने भन्नेमा माओवादीले निर्णय गरिसकेको छैन । निर्वाचन समितिले निर्वाचन कार्यक्रम सार्वजनिक गरेता पनि सहमति जुटाउन भन्दै आज १ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ। त्यसअघि स्थायी कमिटी बसेर सहमतिको प्रयास गर्ने बताइएको छ ।

टिप्पणीहरू