​राजा फर्काउने राजनीति र रहर

यो साता नेपालको राजनीतिक रंगमञ्चमा फेरि अर्को तुरुप फालिएको छ । प्रतिक्रियास्वरुप प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्न सकिने भन्नासाथ हिन्दूवादीहरु हौसिएका छन् ।

भारतको सत्तारुढ जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं ओर्लिएदेखि नफर्किएसम्म विभिन्न राजनीतिक भेटघाटका लागि सक्रिय थिए, दुई पात्र । त्यसमध्येका हुन्, ‘नेपाल हिन्दू स्वयंसेवक’ नामको संस्था चलाउने पाल्पाका दिपक अधिकारी र पञ्चायतकालीन मन्त्री जगदिश झाका भतिज देवेश । यिनैलाई सहजकर्ता बनाएर चौथाइवालेले मुख्य–मुख्य राजनीतिक दलसहित पूर्वराजा ज्ञानेन्द्र निकटस्थ व्यक्तिसम्म भेट्न भ्याए ।

उनले विभिन्न राजनीतिक दलका नेतासँग गरेको कुराकानी जनआस्थाले फेला पारेको छ । सबैजसो भेटघाटमा पूर्वराजाको बारेमा प्रष्ट कुरा राखेका छन् । भाजपा नेपालमा राजसंस्था पुनस्र्थापन गर्ने पक्षमा छ भनेर नबुझ्न, नहेर्न उनको आग्रह थियो । एक भेटमा भने, ‘राजाको पुनस्र्थापना हुनासाथ बदनाम छोरा युवराज हुन्छ । त्यसको प्रतिक्रिया नेपाली समाजले कसरी दिन्छ, हामीले राम्ररी बुझेका छौँ ।’ 

तर, हिन्दू राष्ट्रको बारेमा भारतीय बुझाइ र नेपाली नेताको प्रस्तुतिमा तालमेल नमिलेको उनको ठहर छ । दिल्ली पुग्ने नेपालका केही शीर्षस्थ नेताले हिन्दू राष्ट्रका पक्षमा प्रतिबद्धता जनाउने गरेको तर भाजपा वा भारतीय पक्षको मागबमोजिम नभएर शायद संस्थापन नेतृत्वलाई खुशी पार्न त्यसो भनिएको हुनसक्ने उनको अनुमान छ । उनले भनेका थिए, ‘नेपाल हिन्दू राष्ट्र हुने कुरामा हाम्रो धेरै ठूलो दबाब छैन, तर इच्छाचाहिँ छ । हाम्रो इच्छा बुझेर उनीहरु मीठो वचन दिन्छन् तर काठमाडौं फर्कनासाथ बिर्सन्छन् ।’ हिन्दूराष्ट्र पक्षधर केही नेपाली संस्थाका पदाधिकारीलाई उनले भनेका छन्, ‘यो कुरामा तिमीहरु किन पहल लिँदैनौं ? त्यस्तो पहल लियौ भने भावनात्मक रुपमा भारत सरकार, भारतीय जनता र तिमीहरुको बीचमा राम्रो समझदारी हुन्छ ।’

भारतले नेपालसँगको सुरक्षा र व्यापारिक सम्बन्धमा बढी ध्यान दिएको चौथाइवालेसँगको भेटका सहभागी सुनाउँछन् । ‘सुरक्षाको बारेमा हाम्रा जुन सरोकारहरु छन्, त्यसलाई राम्ररी हेरिदिए हुन्छ’ भन्दै उनले सुनाए, ‘जस्तो कि, आइएसआई, आतंकवादी गतिविधि, जाली भारुका कुरामा अहिलेको सरकारले अझै दह्रोसँग समन्वय गरिदिए भइहाल्छ । त्यसो गर्दा नेपाललाई कुनै नोक्सान पनि हुँदैन । नेपाललाई आइएसआईको ट्रान्जिट पोइन्ट बन्न नदिने कुरा हाम्रो हितमा हुन्छ ।’ 

एउटा भेटघाटका सहयोगीले नेपाल–चीनबीच पछिल्लो समय बढ्दो सम्बन्धबारे कुरा उठाउँदा उनले आफ्नो पार्टीको दृष्टिकोण सुनाए, ‘भारतमा नेपाल जानाजान चीननिकट भएको मनाविज्ञान बनेको छ । व्यापारको दृष्टिले नजिकिँदा कुनै आपत्ति छैन तर सैनिक गठबन्धनलगायत विश्व मामिलाका अन्य करामा ऊसँग ताल मिलाउँदा नेपालको हित हुँदैन ।’ भारतले चाहिँ नेपालसँग व्यापारकेन्द्रित सम्बन्ध बढाउन चाहेको उनले खुलस्त पारेका छन् । ‘नेपालले भारतसँग जति व्यापारिक सहुलियत खोज्छ, भारतले पनि नेपालसँग खोज्ने त्यति नै हो । जस्तो कि, जलस्रोतलाई अब विद्युतका रुपमा ध्यान दिनु आवश्यक छैन । भारत पूरै थर्मलमा गइसक्यो । नेपालमा बन्ने जलविद्युतमा भारतको शेयर हुनुपर्छ भन्ने माग र चाहना पनि छैन । हामीले हेर्ने भनेको बाढी–कटान, सिञ्चाइका कुरा हुन् । नेपालबाट बग्ने पानी भारत छिर्नबाट कसैले रोकेर रोकिँदैन । त्यसैले व्यवस्थित गरौँ । बाढी नियन्त्रण गरौँ र सिञ्चाइबाट दुवै देश लाभान्वित होऔँ भन्ने चाहना हो ।’ 

उनले नेपालको व्यापार घाटाबारे पनि कुरा राखेका छन् । ‘इन्धन हो, नेपालको सबभन्दा बढी व्यापार घाटा हुने क्षेत्र । त्यसको विकल्प नेपालसँग के छ त ? छैन । भारतले दिने सहुलियत दिएकै छ । यदि किन्नुपर्ने बाध्यता छ भने स्वाभाविक हो, नेपालको तर्फबाट पारदर्शी कारोबार हुनुपर्छ । तिमी सहुलियत खोज्छौ भने हामी पनि सहुलियत खोज्छौँ !’ 

भारतीय नेतृत्वको इच्छा पनि सुनाए, ‘नेपालमा भारतविरोधी मानसिकता रहिरह्यो । यस्तो हुनु राम्रो हैन, जरुरी पनि छैन ।’ भारतीयले वैचारिक रुपमा नेपालसँग कसरी जाने भन्ने रणनीति बनाइसकेका छन् । उनीहरु अहिले नेपालमा किन भारतविरोधी मानसिकता बढ्यो भन्ने कुराको सुक्ष्म सर्भे गर्दैछन् ।  जुन–जुन विषयले गर्दा भारतविरोधी मानसिकता बढेको छ, त्यसलाई न्युनिकरण कसरी गर्ने भन्ने निश्कर्षमा पुग्नुपर्ने चौथाइवालेको धारणा थियो । ‘दुई देशबीचको तिक्तताले भारतलाई फाइदा छैन भने किन यस्तो स्थिति राख्ने ?’ उनले भेटेका मानिससँग राखेको प्रश्न हो यो । 
उनको कुराबाट बुझिन्छ, मोदीको यो कार्यकाल यस्तै रहन्छ, धेरै असमझदारी राख्ने पक्षमा उनी छैनन् ।

टिप्पणीहरू