​दक्षिणबाट भात खान मात्रै आएनन् दूतहरु ?

भनिन्छ, दुर्घटना, भूकम्प, बाढी–पहिरो र जासुसहरु अग्रिम जानकारी गराउँदै बाजा बजाएर आउँदैनन् । अघिल्लो महिना भारतका ठूल्ठूला जासुसदेखि राजनीतिक तहसम्मको ताँती चल्नुअघि पुराना ‘र’ प्रमुख विक्रम सुद पनि आएका रहेछन् । हामी त्यसरी आउनेले क–कसलाई, कतिबेरसम्म भेटे जस्ता प्राविधिक सूचनामै अल्मलियौं तर अहिले बल्ल खुल्दैछ ती सबै भ्रमणको एउटा एजेण्डा त ‘मिशन कश्मिर’ पनि रहेछ । भित्रभित्र एउटा तयारी, बाहिर त्यसबाट भारतको सुरक्षामा पर्नसक्ने चुनौतीको सुक्ष्म विश्लेषण र कूटनीतिक भाषामा छिमेकीसामु आफ्ना सरोकारहरुको प्रस्तुति ।

यता राजतन्त्र फर्कने हौवाको खेति, उता आफ्ना दीर्घकालीन चुनावी प्रतिबद्धताहरुको कडाईका साथ कार्यान्वयन । 
७० वर्षदेखि तनावपूर्ण परिस्थितिबीच गुज्रिँदै आएको काश्मिर मामिलालाई भारत सरकारले दीर्घकालीन रुपमा आफ्नो पक्षमा पार्न खोजेको छ । 
भारतीय आम निर्वाचनपूर्व चीनले जिहादी इस्लामिक संगठन जैस ए मोहम्मदलाई आतंककारीको ट्याग लगायो । काश्मिर मामिलामा सक्रिय रहेको उक्त संगठनलाई चीनले समेत त्यस्तो ट्याग भिराइदिँदा त्यसबाट प्रत्यक्ष लाभान्वितचाहिँ भाजपा भइदियो । यसबाट उसलाई चुनाव जित्न निक्कै सघाउ पुग्यो । अर्थात्, ऊ आतंकवादी गतिविधिविरुद्ध आक्रामक छ र काश्मिरमा त्यस्तो गतिविधि पूर्णतः नियन्त्रण गर्छ भन्ने विश्वासबापत धेरै मत पायो । 

७ लाख सुरक्षाकर्मी तैनाथ जम्मु–कश्मिरमा अब झन् झडप त हुन्छ–हुन्छ । काश्मिरबाहिरका बासिन्दाले घरबार किन्न र नयाँ मतदाता हुन नपाउने प्रावधान पनि रहेन । गैरकाश्मिरी समुदायको निम्ति ढोका खुलाएपछि खास काश्मिरीहरु छट्पटिन्छन् । सत्तामा पनि रहँदैनन् । र कट्टर मुसलमान समुदाय क्रमशः पलायन हुन थाल्छन् । तत्कालै त त्यति फरक नपर्ला । किनभने विद्रोह हुन्छ, साविकझैं दमन पनि शुरु हुन्छ । यसपछि पृथकतावाद चाहने मिलिट्यान्ट समुदाय पाकिस्तानको अझ बढी भर पर्ने भयो । भागेर पारी जाने, तालिम लिने र फेरि घुसपैठ गर्ने भयो । 

यो घटनाक्रमसँग नेपालका अनेकन सरोकार छन् । नेपाल भारतसँग दाल–चामलदेखि धेरै कुरामा निर्भर छ । २९ अर्बको चामल त यस वर्षमात्रै आयात भयो । खाद्यान्नमा आयातको खपत ८० प्रतिशत छ । त्यसमाथि काश्मिरसँग सम्बन्धित विभिन्न घटनामा भारतले आँखा लगाउँदै आएको इतिहास छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र खुमबहादुर खड्का गृहमन्त्री हुँदा नेपालबाट केही शंकास्पद काश्मिरी नागरिक समातिई चुपचाप चार्टर फ्लाइटबाट पठाइएका थिए । नेपालमा पुख्र्यौली बसोबास गरिरहेका काश्मिरी मुसलमानको संख्या धेरै छ । काठमाडौंको जमल, असन, इन्द्रचोक, ठमेल र पोखरामा बन्दव्यापार छ ।

र, प्रत्येकपटक भारतीय उच्चपदस्थ राजनीतिक व्यक्ति वा सरकारी अधिकारी नेपाल आउँदा तिनको निगरानी बढ्छ । जसरी चिनियाँ अधिकारीहरु आउँदा तिब्बती गतिविधिमाथि निगरानी राखिन्छ, काश्मिरीहरुको हकमा पनि त्यस्तै हो । त्यसमाथि सन् १९५० को नेपाल–भारत सन्धिअनुसार भारतीय नागरिकका हैसियतले काश्मिरी मुसलमानलाई पनि निर्वाध नेपाल आउन छूट छ । यसरी कोही पाकिस्तानी भएर आउँछन्, कोही भारतीय भएर आउँछन् । विद्रोही आए भने भारतीय एजेन्सीले निगरानी गरिरहेको हुन्छ । उसको सूचनाका आधारमा त्यस्ता शंकास्पद व्यक्तिमाथि नेपाली खुफिया एजेन्सीले विमानस्थलदेखि नै चनाखो हुनुपर्ने अवस्था रहन्छ । यदि कोही व्यक्ति भारतीय सुरक्षा निकायको खोजीमा परेको छ भने समातेर लैजान्छ । यसरी गृहमन्त्रीमा खुमबहादुर खड्का हुँदा भारतीयले उनीबाट सहयोग लिए, पीडा पनि दिए । देहान्तअघि खुमबहादुर भन्ने गर्थे, ‘म भारत, गिरिजा, शेरबहादुर र दरबारको कोपभाजनमा परेँ !' 

स्याङ्जाका एकजना नेपाली काश्मिरबाट सेनामा जागिर खाएर फर्किएका थिए । सुरक्षा निकायले ती व्यक्तिमाथि शंका ग¥यो । प्रहरी महानिरीक्षक थिए, अच्युतकृष्ण खरेल । उनको आदेशमा स्याङ्जाबाट पक्राउ परे । त्यसपछि स्थिति अज्ञात छ । सम्भवतः भारतलाई बुझाइएको हुनुपर्छ । दाङकी मञ्जु शाहलाई काश्मिरी उग्रवादीसँग सम्बन्ध देखियो भनेर भारतीय सेनाको लोकेशन म्याप कोठामा फेला परेको हवाला दिँदै नियन्त्रणमा लिइयो । र, यहाँबाट समातेर भारतको तिहाड जेलमा राखियो ।

नेपालसँग भारतविरोधी उग्रवादीसँग जोडिएका अनेकन आयामको कारण हो, खुफिया एजेन्सी ‘रअ’ सम्बद्ध अधिकारीहरुको निरन्तर भ्रमण हुनु । उनीहरु यहाँ आजाद काश्मिर पक्षधर कति व्यक्ति वा समूह छन् ? यिनीहरुले भोलि के गर्न सक्छन् ? यस्ता कुरा सँुघ्न पनि आएका हुनसक्छन् । राष्ट्रिय सुरक्षाका हिसाबले सूचना खोज्नु स्वाभाविक पनि हो । भारतको अनुमान हुनसक्छ, अब  काश्मिर मामिलालाई लिएर पाकिस्तानसँग बढ्ने तनावपछि नेपाललाई सेल्टर बनाएर भारत लक्ष्यित आक्रमण हुनसक्छ । चीनले  आफ्नो सिमाना जोडिएका कारण सेल्टर दिँदैन । त्यसमाथि ऊ आफैँ पनि मुस्लिम बाहुल्य प्रान्त सिञ्जियाङको तनावमा छ । खुल्ला सिमानाको कारण चीन र भारतविरोधीहरु लुकेर नेपाल आउने क्रम  घटेको छैन । ०५६ पुस ९ गते काठमाडौंबाट दिल्लीका लागि उडेको आइसी ८१४ को साइनो पनि काश्मिरी विद्रोहीहरुसँगै जोडिएको थियो । 

काश्मिर कति जटिल भौगौलिक अवस्थितिमा छ भने, पाकिस्तानमात्र हैन, आतंकग्रस्त अफगानिस्तान र चीनसँग पनि जोडिन्छ । नेपालमा जंगबहादुरको पालादेखि  काश्मिरी मुसलमान बस्दै आएका हुन् । उनीहरुले बेलाबखत व्यापारका नाममा चन्दा उठाएर लैजाने चर्चा यहाँ चल्ने गरेको छ । सँगै आइएसआईसँगको कनेक्सनका कुरा पनि छन् । र, यो कुरा सुँघ्न भारतीय अधिकारी आएको हुनुपर्छ । उनीहरुले भनेकै छन् ‘नेपालको राष्ट्रिय सुरक्षामा आँच आउन नदिन हामी सचेत छौँ । तपाईंहरुले पनि हाम्रो मामिलामा सचेत भइदिनुपर्छ ।’ पुलवामा ४२ जना सिआरपिएफ मारिनेगरी आत्मघाती आक्रमण हुँदा भारतीय मिडियाले सात समुद्रपारीको भेनेजुएलाबारे चासो राख्ने नेपालले छिमेकी देशको सुरक्षामाथि बेवास्ता गरेको आरोप लगाएका थिए । नेपालले ‘एक चीन’ भनेजस्तो ‘काश्मिर समस्या दुईपक्षीय वार्ताबाट समाधान हुनुपर्छ’ भन्ने नीति अबलम्बन गरेको छ । 

नेपालबाट विभिन्न समयमा १६–१७ जना  काश्मिरी बागी पृष्ठभूमिका मानिसलाई भारतले उठाएर लगिसकेको छ । श्रीलंकामा आन्तरिक द्वन्द्व हुँदा काठमाडौंको सिडिओ टोलबाट केही तमिललाई लगियो । पोखरा, जमलबाट पनि त्यस्तै गरियो । तराईतिर मुस्लिम बाहुल्य क्षेत्र छ ।

काठमाडौंबाट तराई जानेलाई पनि निगरानीमा राख्न थालिएको छ । अहिले नेपालमा दुबै ठूला छिमेकी राष्ट्रप्रमुखको भ्रमणको तयारी चल्दैछ । तर, भारतको आन्तरिक परिस्थिति तनावउन्मुख छ । जीवनको अन्तिम घडीमा रहेका दलाई लामादेखि  काश्मिरी पृथकतावादीसम्मले नेपाली भूमि प्रयोग गरेर बितण्डा मच्चाउने खतरा बढेको छ । यस्तो बेला नेपालले आफ्नो भूमि कुनै छिमेकीविरुद्ध प्रयोग हुन नपाओस् भन्नेतर्फ अझ बढी सचेत हुनुपरेको छ । 

भारतीय खुफिया एजेन्सीबाट साइज–साइजका मान्छेहरु डिनर खाएर रमाइलो गर्न, पशुपति दर्शन गर्न र भीभीआईपीहरुको मुख हेर्न मात्रै आए भनेर बुझ्नु घातक हुनेछ । केही न केही गम्भीर कारण छ । समय आएपछि खुल्दै जाने नै छ । 

टिप्पणीहरू