​कविता लेख्नेको जब समातियो कान

  • बाबुलाल भण्डारी

प्रातः भएछ कि सखी चिडिया कराए,
श्रीसूर्यले अरुण कान्ति पनि फिँजाए,
ताराहरु गगन मण्डलमा हराए,
प्यारी, उठौँ कि अब ता कुखुरा कराए !

माथिका पंक्ति पढ्ने जो कोहीलाई यसको मनोहारितामा डुब्न करै लाग्छ । शब्दमा अत्यन्त सरलता र सहजता भइकन पनि शैलीमाधुर्य र भावोत्कर्षले अद्भूत यी पंक्तिले एक पटक सबैको दिललाई झङ्क्रित गर्ने सामथ्र्य राख्छन् ।

वि.सं. १९७४ को कुरा हो यो । श्री ३ चन्द्र समशेर महाराजको निरंकुश शासनको १६ औँ वर्ष चल्दै थियो । सम्पादक श्यामजी अर्यालले साहित्यका नवै रस समेट्ने गरी कविता संग्रह निकाल्ने जमर्को गरे । मोतिराम भट्टले थालनी गरेको श्रृंगारिक भावधारा त्यसबेला काव्यको उत्कर्षमा थियो । युवा युवती बीचका प्रणय, हँसिमजाक, रतिराग एवं सौन्दर्य र सुन्दरीहरुको वर्णन नै साहित्यको मूल प्रवृत्ति बनेको थियो । श्यामजीले भीम समशेरका छोरा राम समशेरको सहयोग र संरक्षणमा त्यतिबेलाका सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, मोतीराम भट्ट र राजीवलोचन जोशीलगायत सबै प्रखर नयाँ पुराना २४ कविबाट बडो मेहनतसाथ कविता संकलन गरी श्रृंगारिक रसमा  ‘सूक्तिसिन्धु’ नामको पहिलो कविता संगालो निकालिछाडे । सबैले आफ्ना कवितामा खुलेर श्रृंगार रस भरे र अहिलेजस्तो मनोरञ्जनका साधन नहुने ऊ जमानाको सामाजिक मनोविज्ञानमा यस संग्रहले प्रचण्ड असर ग¥यो । यसभित्रका रसिला र मनका तन्तुहरुलाई हल्लाइदिने शक्तिशाली कविताले समाजका पढालिखा वर्गबीच राम्रो चर्चा–परिचर्चा त यसै पायो, त्योभन्दा बढी यसले राणा दरबारमा उमेर पुगेका चेलीबेटी र अन्तपुरमा राखिएका युवतीहरुको मन मस्तिष्कलाई छोइदियो । 

तर दरबारको त्यो बेलाको पुराणपन्थी धारलाई आफ्ना विपक्षीविरुद्ध चन्द्र समशेरको कान भर्ने निहुँ यही बन्यो । उनीहरुले ‘यो छाडा साहित्यले युद्धमा जान लागेका सिपाही र दरबारका युवतीहरुलाई भड्काएको छ र यौन अराजकता फैलाएको छ’ भन्दै महाराजसामु फिराद गरे । चन्द्रले विषयवस्तु र त्यसको प्रकृति अध्ययन गर्नपट्टि नलागी सोझै कविहरुलाई समात्न आदेश दिए । कवि राधानाथ लोहनीलाई लछार पछार गर्दै श्री ३ चन्द्रको सम्मुख पेश गरियो र उनलाई सार्वजनिक रुपमा कान समाएर उठबस गर्न लगाई मोरु ५ र जरिवाना तिराएर छोडियो । अरु धेरै कविलाई पनि त्यसैगरी अपमानित गरियो र जनही १ रुपैयाँ दण्ड गरी अब आइन्दा यस्तो नलेख्ने कायलनामा गराइयो । प्रकाशक श्यामजी अर्याल ज्यान जोगाउन वीरगञ्ज स्वनिर्वाशनमा गए । प्रकाशित सबै प्रतिहरुको बेचबिखनमा प्रतिबन्ध लगाई जफत गरियो । यसरी प्रकाशनको ६ महिनाभित्रै सौन्दर्य साहित्यको यो अनमोल कृति लोकप्रिय त बिछट्टै भयो तर विवादित र प्रतिबन्धित पनि हुनपुग्यो । यस घटनाले साहित्यमा कलम चलाउने सबै त्रसित भए र कैयौंको लेखकीय जीवन यहीँ नै समाप्त भयो ।

नेपाली साहित्यको इतिहासमा १९७४ को यस  दुखद घटनालाई ‘सूक्तिसिन्धु पर्व’ भनेर  चिनिन्छ । यसले साहित्यको ऐतिहासिक विकासक्रममा ज्यादै दुरगामी असर ग¥यो र माध्यमिककालीन श्रृंगारिक युगको यसै संगालोसँगै विधिवत अवसान भई परिष्कारवादी धारको जन्म भयो । कारबाहीमा परेका दुई समकालिन कृतिमध्ये मकैको खेती (१९७७) बाट एकजना व्यक्ति प्रताडित भए तर सूक्तिसिन्धु काण्ड (१९७४) बाट एउटा पुस्ता प्रताडित भयो र युगधारा नै बदलियो । अनि धेरैका लागि यो ‘एन्टी क्लाइमेक्स’ जस्तो सावित भयो । यो राम्रो भयो वा नराम्रो भयो भन्नेमा छलफल हुन सक्ला तर पनि यो आफैमा ऐतिहासिक युगान्तकारी घटना भने अवश्य हो ।

उपरोक्त विवादमा प्युरिटनिष्टहरुको मुख्य आरोप ‘यो कृति छाडा र अश्लील छ’ भन्ने रहेछ । स्वयं नाट्य सम्राट बालकृष्ण समले ‘सूक्तिसिन्धुले मेरो कवितामाथिको प्रेम कहिल्यै नमर्ने गरेर उकासिदियो’ भनेका रहेछन् । ऊ बेला पनि अरु थुप्रै थिए जसले यसलाई भाँड साहित्य वा दुषित कविता भनेनन् बल्की क्रान्तिकारी कदम भनेर प्रशंसा नै गरे र धेरै नयाँ प्रतिभालाई यसले कविता कोर्न रुचि र प्रेरणा दिएको बताए । यसमाथि प्रतिबन्धको असली कारण अश्लीलता नभएर दुई तत्कालिन दरबारी कवि हेमराज शर्मा र राममणि आ.दी.को द्वन्द्वलाई मान्नेहरुको संख्या पनि ठूलै छ  । यता उक्त घटनाको ठीक ५० वर्ष पछि पुस्तक अप्राप्य रहेको र पाठकहरुको ठूलो जिज्ञासा रहेको भन्दै कमलमणि दीक्षितले २०२४ सालमा जगदम्बा प्रकाशनबाट यसको दोश्रो सँस्करण सार्वजनिक गरे । आजसम्म २०५५ र २०६२ मा गरी यसका तेश्रो र चौथो संस्करणसमेत बजारमा आइसकेका छन् र अब यो विभिन्न तहका पाठ्यक्रममा समेत समाविष्ट छ । तसर्थ यसमा अश्लीलताको खतबातको अवस्था कायम रहेको भन्न मिल्दैन । 

यसै पनि श्लील अश्लीलको सटिक परिभाषा र परिसिमन अत्यन्त कठिन काम हो र युगौँ देखि यसमा बहस र छलफल हुँदै आएको छ । अझ सञ्चारको क्रान्तिले अहिलेको समाज त्यस समयमा भन्दा ज्यादा अगाडि बढिसकेको छ । श्लील अश्लीलका मानक र सीमान्त रेखा बदलिएका छन् । बर्ट्रान्ड रसेलले भनेजस्तै कुनै समय सुन्दरी महिलाको  गोलीगाँठो देख्दा कुत्कुती लाग्ने समाजलाई अहिले अर्धनग्न युवतीहरुको दर्शनले समेत प्रभाव पार्न छोडिसकेको छ । प्रेम अब सामाजिक–साँस्कृतिक हिसाबले जीवन र सृष्टिको कडी मानिएको छ र यस अर्थमा प्रेमभाव पनि अश्लील लाग्न छोडिसकेको छ । आजभोलिको मान्यतामा वस्तु स्वयंमा श्लील वा अश्लील नभएर यो द्रष्टाको नजर वा सोचमा भर पर्ने कुरा हो भनिन्छ । सोझो अर्थमा नग्नतालाई सभ्यताको सुरुवात देखिने अश्लील ठान्ने मान्यता रहे पनि बालबालिकाको नग्नतालाई जसरी हामी अश्लील मान्दैनौँ यो पनि त्यस्तै हो । बरु अश्लीलता प्रायः गरी टिप्पणीकर्ताको यौन कुण्ठाबाट बाहिर छचल्किई रहेको हुन्छ र आज अश्लीलता त्यति मात्र हो जसले समाजको मर्यादा खण्डित गर्छ, समाजले पचाउन सक्दैन ।

यसैकारण हिन्दू धर्म र दर्शनमा जीवनका ४ पुरुषार्थमध्ये धर्म, अर्थ र मोक्षसँग ‘काम’ लाई मानिएको छ । पवित्र मन्दिरहरुका टुँडालमा यत्रतत्र कुँदिएका कामकलाका चित्राकृतिहरु लौकिक नजरमा श्लीलको परिभाषाभित्र कतै पर्दैनन् । होली पूर्णिमाको ७ दिनअघि काठमाण्डौको वसन्तपुरमा हुने ‘चीर स्वायगु’ र होलीको दिन भक्तपुर दत्तात्रयको भीमसेन मन्दिरमा गरिने कृत्य पनि एक अर्थमा अश्लील नै हुन् । तर अविकारी मनले हेर्ने जो कसैलाई ती कुनै पनि अश्लील होइनन् र त्यस्तो लाग्दैनन् पनि । अन्तमा त्यही सूक्ति सिन्धुबाट निम्न खण्ड उद्धरण गर्न चाहन्छु । 
स्वाँ स्वाँ गरी पलङ्गमा छलले निदाई,

सुत्नु भएछ पति त म चाल् नपाई,
मस्केर चुम्बन गरेँ अनि हाँसनु भो,
धेरै नसोध संगिनी पछि कुन्नी के भो !
०००
हात्मा लिई कचौरा घस्न भनी म जान्थें,
लाजले भुतुक्क हुँदै दुई पाउ तान्थें,
छिर्लिङ्ग शब्द चुरीको सुनी जागनु भो,
धेरै नसोध संगिनी पछि कुन्नि के भो !

१०० वर्षअघि एउटा खास परिस्थितिमा रचित यी पंक्ति यहाँ शेयर गर्दैमा अश्लीलता, लैङ्गिक विभेद र भोगवादी जीवनदृष्टि पस्किएको बात त नलाग्ला नि ?

टिप्पणीहरू