कसले यस्तरी कोशेली चढाउँछ कमरेड ?

प्रहरीले गोली हानेर अपराधीलाई नियन्त्रणमा लिन्छ । गृहमन्त्रीका छोरा डाक्टरसँग तात्तिन्छन्, ‘त्यसको तुरुन्त अपरेशन गरिदिनुस्’ । यति नगरे कसरी कमाई होला त, दुई करोड २५ लाख पर्ने गाडी ?

हो, अहिले गृहमन्त्रीपुत्र प्रतीक थापाले टोयोटा कम्पनीको प्राडो टिएक्स, अटोमेटिक फुल्ली लोडेड गाडी लिएका छन् । यही गाडी भरतपुरकी मेयर रेणु दाहाल र कांग्रेसका पूर्वसांसद तीर्थ लामासहितले चढेका छन् । पाँच महिनाअघि उनले टोयोटा कम्पनीमा गाडी बुक गराएका थिए । यो गाडीको खरिदमा हालै नुवाकोटबाट तानिएका एसपी कृष्ण पल्लीमगरसँगको योगदान पुष्टि हुने गरी कनेक्सन पनि फेला परेको छ । उनैले हो, २४ गते डल्लुको बिजेश्वरी हाउजिङमा फिरौती असुल्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका लोप्सन र मिलन भनिने बाबुराम तामाङको चिन्ता लिँदै प्रहरी अधिकारीदेखि वीर अस्पतालका चिकित्सकसम्मलाई अनेकन दबाब दिइरहेको । उनीसँग उपराष्ट्रपतिपुत्र दिपेशको पनि सक्रियता भेटिएको छ । प्रहरी अहिले पक्राउ परेका आरोपितसँग यी दुई भाइको कनेक्सन खोज्न व्यस्त छ । रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कासँग फिरौती माग्ने क्रममा घुँडामा गोली हानी प्रहरीले लोप्सनलाई पक्राउ गरेको थियो भने उनको पक्राउलगत्तै अर्का गुण्डा अमृत तामाङ पनि नियन्त्रणमा लिइएका थिए । यी दुबै हाल जेलमा रहेका ‘बाहुन डन’ को नामले चिनिने सुजन पौडेल समूहको भएको बताइन्छ । तिनैसँग गृहमन्त्रीका छोरा र उनको टिमका केही सहयोगीको पनि सम्पर्क भेटिएको हो । प्रहरीले नियन्त्रणमा लिएका लोप्सन र अमृत पहिला वाइसिएलमा संगठित थिए । संगठनको नाममा अनुचित काम गरेर कारवाहीमा परेपछि एक वर्ष विप्लव समूहमा आवद्ध भए । तर, त्यताबाट पनि फिरौती असुल्न थालेपछि निकालिए । पहिल्यैदेखि ‘बाहुन डन’ को गिरोहमा रहेका उनीहरु बाहुनकै निर्देशनअनुसार गाउँपालिका अध्यक्षसँग फिरौती असुल्न सक्रिय भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

योसँगै अर्को काण्ड छ, नुवाकोटबाट एसपी कृष्ण पल्लीमगर तानिएकोबारे । पल्लीमगर केही क्रसर व्यवसायीको योजनाअनुसार दिपेशको दबाबमा नुवाकोट खटिएका थिए । नदी उत्खनन्का कारण जमिन विनाश भएको भनी स्थानीय तहले आपत्ति जनाउँदै आए । त्यसमाथि सिडिओ द्रोण पोखरेलले पटक–पटक त्यस्तो कामलाई प्रोत्साहित नगर्न चेतावनी दिइरहे । तर, डन, ड्राइभर र द्रव्यपिचासहरुसँग मिलेका एसपीचाहिँ जहिल्यै अटेर गर्थे । यसपछि सिडिओले गृहसचिवमार्फत मन्त्रीसँग पनि कुरा गरे । मन्त्रीले आफ्नो नाम लिँदै अनियमितता गर्ने अधिकार कसैलाई नभएको बताए । गृहसचिवले आइजिपीलाई पल्लीमगरलाई तुरुन्त काज सरुवा गर्न निर्देशन दिए । उनको ठाउँमा गृहमन्त्रालयमै कार्यरत एसपी अभिनारायण काफ्ले हाजिर भएका छन् । यो घटनासँगै गृहले एसपी पल्लीमगरमाथि छानवीन शुरु गरेको छ । नुवाकोट मामिलाको छानवीन गर्दा उनलाई त्यहाँ पठाउन लबिङ गर्ने व्यापारी, दिपेशहरुको कनेक्सन पनि फेला परेको छ । पल्लीमगरमाथि अख्तियारमा पनि उजुरी परेको बताइन्छ । 

गोलीकाण्डका थप खुलासा

२४ गतेको गोलीकाण्डमा गाउँपालिका अध्यक्ष गोविन्द खड्काले लिखु गाउँपालिकाकै ७ नम्बर, तिल्पुङका वडाध्यक्ष सुभाष बोहोराको योजना भनी आरोप लगाए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको आरोप पुष्टि नभएको बुझिएको छ । अनुसन्धानअनुसार, रामेछापको लिखु गाउँपालिका १, दुरागाउँमा केन्द्रीय प्रशारणको बिजुली पु¥याउने क्रममा आफैँ ठेकेदार बनेर काम गरेका थिए । चारवटा उपभोक्ता समिति खडा गरेर १३ करोडको काम गरे, त्यसबाट पाँच करोड कमिशन लिए । त्यही गाउँका रमेश बाहुनले यो कुरा चाल पाएपछि फिरौती धन्दा शुरु भएको हो । 

गाउँपालिका अध्यक्ष खड्का कतिसम्म विवादास्पद भने कार्यपालिका बैठकमा विवाद हुँदा कुर्सी हानेर उपाध्यक्ष दीपशिखा दाहाल र प्रशासकीय अधिकृत भूपेन्द्र राईलाई घाइते बनाएका थिए । उनीहरु सुरक्षा खोज्दै अहिलेसम्म सदरमुकाम मन्थलीमा छन् । उनलाई कारवाही गर्न नेकपाले सिफारिस गरेको छ । उनले प्रदेश अर्थमन्त्री कैलाश ढुंगेल, पार्टीका जिल्ला इञ्चार्ज देवशंकर पौडेललाई पनि मुख छाडिसकेका छन् । उसको पक्षमा पूर्वमाओवादी ओमकुमार मोक्तानमात्रै हुन् । उनीमाथि कार्यपालिकाका दुई महिलासँग सम्बन्ध राखेको आरोप लाग्दै आएको छ । उनी राप्रपाबाट तत्कालिन एमालेमा प्रवेश गरेका हुन् । आफूलाई एमालेमा ल्याउने युवासंघकी एक नेतृसँग वैवाहिक सम्बन्ध राख्ने नाममा उनको काठमाडौं बूढानिलकण्ठस्थित घर बैंकमा धितो राखेर पचाएका थिए । ती नेतृले जमलस्थित नाचघरको एक कार्यक्रममा मान्छेकै बीचमा उनलाई कुटपिट गरेकी थिइन् । 

टिप्पणीहरू