​विश्वास, अविश्वास र अन्धविश्वास

  • सुनिता रेग्मी

नेपालमा अझै पनि महिलाले ‘यो बोक्सी हो’ भन्ने लाञ्छनाबाट मुक्ति पाउन सकेका छैनन् । अझै पनि बत्ती निभेको बेला केटी र महिला जम्मा भएर रातिको खानापछि गर्ने कुरा प्रायः भूतप्रेत वा बोक्सीसम्बन्धी नै हुने गर्छ । 

मैले पनि सानो छँदा यसरी भूतसँग तर्सिने, बोक्सीको कुरामा विश्वास गर्ने अनि चुडेलको कथामा रमाउने केटीसँग धेरै संगत गरेकी छु । कसैलाई भूतसँग तर्सिन अँध्यारो नै काफी हुन्छ भने कोहीचाहिँ जम्काभेटै नभएसम्म भूत छ भन्नेमा विश्वास गर्दैनन् । भूत काल्पनिक सत्य हो । भूतको कथामा रमाउनु कल्पनाको दुनियाँमा हराउनु हो । 

विराटनगरबाट काठमाडौं आएर माष्टर्स तहको पढाइ सक्दै गरेकी सोनुले एकदिन सुनाइन् भने उनका मामाहरू विदेशी संघसंस्थाको ठूलो ओहोदामा काम गर्छन् अनि आमा भने बिरामीका लागि धामीझाँक्रीकोमा जान्छन् । के गर्नु डाक्टरको औषधिले छँुदै छोएन । फेरि थप्दै भनिन्, ‘यदि मामाहरूले आमा झाँक्रीकोमा उपचारार्थ गएको कुरा थाहा पाए भने गाली गर्नुहुन्छ । सोनुकी आमा र मामाको सोचको भिन्नताले उनको हजुरबुबाहरूले छोराछोरीलाई पढाउने बेला गरेको विभेद मात्रै उजागर गर्दैन कि कसरी कलेज जानु र नजानुले मानिसको सोचमा अन्तर ल्याउँछ भन्ने पनि प्रस्ट पार्छ । सोनु आफैं डिग्रीको छात्रा हो तैपनि किन उनको सोच आमापट्टि गयो त ?

अफ्रिकी समाजमा भुडूको प्रयोग व्यापक हुन्छ । यसको प्रयोग मानिसलाई मनोवैज्ञानिक रूपमा सताउनका लागि गरिन्छ । यो केही हदसम्म इण्डियामा प्रयोग गरिने काला जादुजस्तै हो । कुनै मानिसलाई हानी गर्नुप¥यो भने त्यही मानिसको सानो पुत्ला बनाई त्यसलाई रोप्दा, घोच्दा, जलाउँदा सम्बन्धित व्यक्तिलाई असर गर्छ भन्ने कुरामा अफ्रिकी विश्वास गर्छन् । तर, इण्डियामा सीधै जुन मानिस वा बच्चाको कुरा गरिएको हो त्यसैलाई बलि चढाइदिन्छन् ।

अमेरिकामा कलेज पढेका युवा सडकमा जादु देखाउने काम गर्छन् । उनीहरू आफ्नो जादुमा विज्ञान मिसाउनमा माहिर छन् । दर्शकहरू तिनीहरूको जादु हेरेर छक्कै पर्छन् । केही युवा आफ्नो जादुमा कहिलेकाहीँ भुडूमा प्रयोग गरिने विधि अपनाउँछन् । ज्ञानमा थोरै मात्र विज्ञान मिसाइयो भने धेरैका लागि त्यो जादु हुन्छ । के अफ्रिकीले मानसिक र शारीरिक हानिका लागि प्रयोग गर्ने गरेको भुडू विधिको प्रचलनमा मनोविज्ञानको गलत प्रयोजन भएको छैन ? मानसिक रूपमा दरिलो मानिसलाई त त्यसले फरक नपार्ला तर कमजोर मानसिक स्थिति भएकालाई भने नकारात्मक प्रभाव पार्ने पक्का छ । 

 तपाईंले अमेरिकीले बनाएको टेलिभिजन कार्यक्रम घोस्ट हन्टर ‘भूतको खोजीमा’ हेरेको हुनुपर्छ । बाह्र वर्षभन्दा बढी चलेको यो कार्यक्रम कुनै समय अति लोकप्रिय थियो । यो कार्यक्रमको सञ्चालक हावामा भूतको कुरामा विश्वास गर्ने होइन कि, बरु हो कि होइन भनेर प्रमाणित भएपछि मात्र यही हो भनेर किटानसाथ भन्ने गर्थे । यो संस्थाले प्रयोग गर्ने औजार र प्रमाणीकरणमा त्यहाँको सैनिक संस्थाको समेत ठूलो विश्वास थियो । त्यसैले एकचोटि उनीहरूले आफ्नो एउटा तर्साउने ब्यारेकसम्बन्धी सत्यतथ्य बुझ्न भूतको खोजीमा लागेको टेलिभिजनको त्यही टिमलाई निम्त्याएका थिए । त्यो ब्यारेक बनेको ठाउँमा दोस्रो विश्वयुद्धताका केही मानिस मारिएका थिए । उनीहरूले आफ्नो जाँच राति ११ बजेपछि शुरु गरे र अँध्यारोमा के–के हँुदोरहेछ भनेर हेरे । अनुसन्धानात्मक कार्य राति २ बजेसम्म चल्यो । टिममा भाग लिने एक जना अँध्यारोको हर्कतबाट तर्सिएको आवाज आए पनि त्यहाँ केही पनि देख्न नसकिने अन्धकार थियो । लामो अँध्यारो करिडोर भएको ठूलो घर, जुन जमिनमुनि थियो, भित्र निकै डरलाग्दो वातावरण थियो । त्यो हेर्दा त्यहाँ भएको एउटा ठूलो शक्ति जसलाई देख्न त सकिँदैनथ्यो तर महसुस भने सजिलै गर्न सकिन्थ्यो । त्यसैले एकजना अनुसन्धानकर्ताले अँध्यारोमा प्रश्न ग¥यो, यदि तिमी हामी यहाँ आएको रुचाउँदैनौ र तिमीहरू यहाँबाट जाऊ भन्छौ भने यो टेबलमा भएको टर्च लाइटलाई तीनचोटि बाल्नू र निभाउनू । हामी तिम्रो कुरा बुझ्छौं । त्यहाँ एकछिनसम्म सन्नाटा छायो र टर्च लाइट अँध्यारोमा तीनचोटिसम्म बल्ने र निभ्ने ग¥यो । त्यसपछि उनीहरूले आफ्नो काम रोके र ब्यारेकबाट बाहिरिए । केही दिनपछि उनीहरूले त्यहाँ भूत भएको रिपोर्ट सैनिक अधिकारीलाई दिए । 

मलाई पनि भूतको कथा र कहानी हेर्न, सुन्न र पढ्न मन पर्छ तर डर अनि विश्वास भने यसको कारण होइन । बरु त्यो सबै कुरा भित्र लुकेको मानिसको जटिल मनोविज्ञान हो । कसरी आफ्नो काम र स्वार्थका लागि मानिसले भूतको कथालाई जीवित राख्छन् भन्ने बुझ्न जरुरी छ । त्यो एकदमै रोचक हुने गर्छ । मैले इण्डियामा हुने धेरै अपराधको घटनामा भूत र आत्माको नाममा धेरै आपराधिक काम भएको देखेकी छु । शुरुमा भूतलाई दोष दिएको तर अन्त्यमा त्यो सबको पछाडि कसरी मानव स्वार्थ लुकेको हुन्छ भन्ने पाएको छु । ठीक छ, कहिलेकाहीँ हामी साँच्चै भूतकै कथा पनि सुन्ने वा पढ्ने गर्छौं जसले अर्कै रमाइलो दुनियाँमा लैजान्छ । तर, त्यस्तो भने एकदमै नगन्य हुन्छ । मलाई आजसम्म पनि स्कुलमा हुँदा भूतलाई समात्दा भन्ने कथा पढेको याद आउँछ । त्यो कथा पढेको दिनदेखि नै अन्धविश्वासको पछाडि अज्ञानताभन्दा बढी स्वार्थ लुकेको हुन्छ भन्ने बुझेँ । हाम्रो समाजमा भूत र बोक्सीको कहानी जीवित  रहनुको पछाडि हावाको कुरामा हो मा हो मिलाउने जमातको दोष मात्र होइन कि कुनै पनि कुराको राम्रो विश्लेषण गर्न सक्ने दिमाग भएको मानिसजस्तै, सर्लक होम्सजस्ता जासुसको कथा अनि त्यस्तै किसिमका पात्र कम लोकप्रिय हुनु पनि हो ।

टिप्पणीहरू