​विदेशमै नेपालीमाथि नेपालीद्वारा बबाल

विदेशी भूमिमा पुगेर नेपालका भूपू हवल्दारले उताका भूपू लाहुरेमाथि ठगी धन्दा नै चलाए । जब, उनी बेपत्ता भए, अनि हल्लिखल्ली शुरु भयो । 

लण्डनस्थित एनआरएनए युकेका बिजनेश विभाग प्रमुख गंगा राना नेपालीकै पैसा हजम पारेर बेपत्ता हुँदा थुप्रै नेपालीबीच रुवाबासी चलेको छ । उनले युटिएल कम्पनीको निर्देशक हुँदा एक सय २४ जना शेयर होल्डर र शेयरहोल्डरभित्रैका पाँच जनाबाट थप ऋण लिई तीन लाख ५६ हजार नौ सय ७० पाउण्ड (करिब ५ करोड १७ लाख रुपैयाँ) हिनामिना गरेको बताइन्छ ।

गंगाले नेत्र खरेलबाट ३५ हजार, रामकाजी गुरुङबाट ३५ हजार, ज्योति ठकुरीबाट १८ हजार, श्रीराम थापाबाट ३० हजार र अन्यसँग १४ हजार चार सय तीन पाउण्ड अतिरिक्त ऋण लिई एकलाख ३२ हजार चार सय तीन पाउण्ड हिनामिना गरेका रहेछन् । शेयरहोल्डरमध्ये ८० प्रतिशतले २५ सय पाउण्डका दरले र बाँकीले हजारदेखि १५ सय पाउण्डसम्म तिरेका थिए । करिब ८० प्रतिशत शेयर होल्डरहरु सोझा ब्रिटिश भूपू लाहुरे हुन् । 

गंगा नेपाल प्रहरीका पूर्वहवल्दार हुन् । उनले युटिएल कम्पनी मातहत लण्डन साउथ ह्यारोमा चौतारी रेष्टुरेण्ट, एभरेष्ट क्यास एण्ड क्यारी, चौतारी टु, चौतारी थ्री, चौतारी फोरजस्ता रेष्टुरेण्ट खरिद गरेको भन्दै शेयर होल्डरहरुलाई ढाँटेर करोडौं रकम घोटाला गरेको आरोप छ । मनोमानी ढंगले शेयर होल्डरहरुसँग सल्लाह नै नगरी रेष्टुरेण्ट किन्दै जाने, तर पैसा नदिने गरेका थिए । रेष्टुरेण्ट सञ्चालकलाई पनि झुक्याएर खरिद गरेको पैसा नदिएपछि अन्तिममा व्यवसाय नै फिर्ता हंँुदै गएको र चरम घाटा देखाएको शेयर होल्डरहरुले बताएका छन् । उनले लायोनेस कम्पनीबाट युटिएललाई मिलियन पाउण्ड नाफा आउने र शेयर होल्डरहरुलाई ‘फाइनान्सियल फ्रिडम गराउने’ भन्दै पैसा उठाएका थिए । ठगिनेमा बेलायतका मात्र नभई बेल्जियम र जर्मनीका एनआरएनए नेतासमेत छन् । उनले हाल सञ्चालन भइरहेको चौतारी रेष्टुरेण्ट ६० हजार पाउण्ड भन्दा बढि र आफूले चलाउँदा एभरेष्ट क्यास एण्ड क्यारी दुई लाख २७ हजार नौ सय ३२ पाउण्ड ऋणमा डुबाइदिएको एक पीडितले जनआस्थालाई बताए ।

आर्थिक घोटालाको आशंकापछि सम्पूर्ण शेयरहोल्डरले वार्षिक साधारणसभा बोलाउन पटक–पटक अनुरोध गरे । तर, उनले बेवास्ता गरी कहिले इण्डिया जाने, कहिले नेपाल जाने, कहिले बैठक भन्दै युरोपेली मुलुक जाने त कहिले अनेक बहानामा एजिएम सार्ने नाममा कुरा टार्दै आएका थिए । त्यसपछि ७४ जना शेयरहोल्डरले हस्ताक्षरसहित अदालत जाने चेतावनी दिएपछि एजिएम बोलाए । त्यही भेलाले उनलाई निर्देशकबाट निकाली चौतारी रेष्टुरेण्ट बन्द गरेको थियो । गंगा राना आफैँ सहभागी उक्त एजिएमले एक छानवीन समिति गठन गरी आर्थिक हिनामिनाबारे सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको थियो । उनले खर्च देखाउने, तर बिल, भर्पाइ माग्दा नदिने, निजी बैंक खातामा पैसाको कारोबार गर्ने, संस्थाको नाममा रहेको एचएसबीसी बैंक खाता र रेष्टुरेण्ट सञ्चालनमा आइरहेको टिल बन्द गरिदिने, पिरामिड सिष्टमको लायोनेस व्यवसायको पासवर्ड बारम्बार माग्दा पनि नदिने, कयौं पटक भएका बैठकमा केवल एकपटक मात्र उपस्थितिबाहेक सम्पर्कविहीन हुने गरेका थिए । गंगाले लायोनेसमा २५ सय पाउण्ड हाल्नुस्, पाँच वर्षमा ‘फाइनान्सियल फ्रिडम’ गराई मिलिनियर बनाइदिन्छु भन्दै पैसा उठाउने गरेको बताइन्छ । 

एभरेष्ट क्यास एण्ड क्यारीका निर्देशकहरुमध्ये एक निर्देशक काउन्सिलर लक्ष्य गुरुङले आफ्नो हस्ताक्षर कीर्ते गरी रानाले ऋण लिएको बताएका छन् । ऋण मिलाइदिएबापत कमिशन लिने एक भारतीय एजेण्टले रानासँग १५ हजार एक सय २१ पाउण्ड लिएको, तर पछि १५ सय राखेर बाँकी रकम रानालाई नै फर्काएको ती एजेन्टले बताए । मीठो बोल्ने, अनेकन प्रलोभन देखाउने र नयाँ मान्छे देख्नेबित्तिकै ल्यापटप खोलेर लायोनेसबाट यति नाफा हुन्छ भन्दै झुक्याउने गरेका उनी अहिले सम्पर्कविहीन छन् ।

टिप्पणीहरू