कुर्सी भाँचिँदा सिंहदरबारमा झण्डै…

गाईजात्रा छ सिंहदरबारतिर । कहिले संसदीय समितिका सभापति बसेको कुर्सी भाँचिने त कहिले मन्त्रीज्यूकै कुर्सी दुई टुक्रा हुने ।

यस्तै बिजोग देख्न पाइयो अस्ति सोमबार । संघीय संसद्का दर्जनमध्ये सबैभन्दा शक्तिशाली मानिन्छ अर्थ समिति । उसैको कुर्सी भाँचियो र भुइँमा पछारिए सांसद । अर्थ समितिमा २५ सदस्य छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वउपप्रधानमन्त्री विजय गच्छदार, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, भर्खरै कान्छी भिœयाएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की, पूर्वमन्त्री सत्या पहाडी, शशांक कोइराला, उद्यमी मोतीलाल दुगड, नेकपा महासचिव विष्णु पौडेल, रामकुमारी झाँक्री, जुली महतोसम्म ।

राजश्व चुहावटसम्बन्धी पुरानो ऐन संशोधन गर्न बनेको विधेयकउपर छलफलका लागि डाकिएको थियो बैठक । तर, यति गम्भीर विषयवस्तुमा छलफल गर्न डाकिए पनि आधा सांसद बैठकमा देखिएनन् । बिहान ११ बजेको बैठक बल्ल १२ बजे शुरु भयो । अर्थमन्त्री युवराज खतिवडा पुगिसकेका थिए । घनश्याम भुसाल, प्रेम सुवाल, राजन केसी, मेटमणि चौधरी, रामकुमारी झाँक्री, मोतीलाल दुगडलगायत माननीय उपस्थित थिए । बैठक चल्दै गर्दा मोतीलाल दुगडहरू बालुवाटारमा काम छ भन्दै उठेर हिँडे ।  अर्थमन्त्री डा. युवराज खतिवडा, राजश्व अनुसन्धान विभागका महानिर्देशक  दीर्घराज मैनालीहरूले आफ्नो धारणा राखेपछि सभापति कृष्ण दाहालले सांसदलाई संशोधन प्रस्ताव राख्न समय दिए । त्यहीबेला हो घनश्याम भुसाल बसिरहेको कुर्सी ढलेर दुई टुक्रा भएको । उनलाई  दाङका मेटमणि चौधरी र समिति सभापति दाहालले हात दिएर उठाए । यसरी बैठक चलिरहँदा कुर्सी भाँचिएर सांसद भुइँमा पछारिएको यो पहिलो घटना होइन ।  यसअघि सोही समितिमा सार्वजनिक खरिद ऐनको मस्यौदाउपर छलफल चलिरहँदा विक्रमबहादुर पाण्डे बसेको कुर्सी भाँचिएर पछारिएका थिए । यस्तै बेथिति भोगेपछि केहीअघि  खगराज अधिकारीले संघीय संसद्मा सभामुख कृष्णबहादुर महराकै अगाडि  आफू अहिलेसम्म ४ पटक कुर्सीबाट लडिसकेको भन्दै ज्यान जोगाउन गाह्रो परेको दुखेसो पोखेका थिए । 

यता, सांसदहरू आफू बस्ने कुर्सी गतिलो नभएको, शौचालयमा पानी नआएकोजस्ता दुःख बिसाउँछन् । सांसदका यस्ता दुखेसोबीच  समितिका सभापतिहरू लालची भएर निस्किएका छन् । उनीहरू पुरानो सद्धे गाडी सचिवालयभित्रै ग्यारेजमा थन्क्याएर फेरि÷फेरि ५०औं लाखको गाडी चढ्छन् । चढ्न थालेको गाडी महिना दिन नहुँदै बिग्रन्छन् ।  गत वर्ष कात्तिकमा संसदीय समितिका सभापतिको लागि मात्र ५० औं लाख मूल्यका १८ वटा गाडी खरिद गरिएको थियो । १२ वटा स्कोर्पियोे जिप, तीनवटा ह्याच ब्याक कारसहितका अन्य ३ वटा कार । सचिवालयले २ वर्षयता ३४ वटा गाडी खरिद गरेको छ । 

टिप्पणीहरू