सामाजिक सञ्जालले यसरी गर्छ शिकार
नेपालमा सामाजिक सञ्जालद्वारा सिर्जित ‘मास फ्रस्टेशन’ ले निम्त्याएको एउटा अर्को घटना हो, इन्द्रजात्रा व्यवस्थापनमा देखिएको समस्या ।
यसले गर्दा राष्ट्रपति न पूर्वनिर्धारित समयमा बसन्तपुर पुग्न सक्नुभयो, न तोकिएको समयमै फर्किन पाउनुभयो । कारण हो, जात्राको अवसरमा बितण्डा मच्चाउन चाहने एउटा समूह र त्यसलाई प्रतिकार गर्ने नाममा तयार भएको अर्को समूहबीचको विवाद । यसरी अवरोध र प्रतिकार, दुबै कुरालाई प्रश्रय दिनेचाहिँ सामाजिक सञ्जाल नै हुन् । प्रहरीले त्यहाँबाट विरोधका लागि प्रयोग गरिने कालो भेष्टसहित छेउमै रहेका पेन्सन होल्डर पूर्वडिआइजी विजय भट्टसहितका व्यक्तिलाई नियन्त्रणमा लियो । विरोध गर्ने र साँस्कृतिक परम्पराअनुसार मनाउन चाहने समूहबीचको विवाद राष्ट्रपति पुगिसक्दा पनि समाधान भएको थिएन । बरु, दुबै पक्षले आ–आफ्ना समर्थकलाई सामाजिक सञ्जालमार्फत उत्तेजित बनाउने काम भइरह्यो । फलतः राष्ट्रपति ४ बजेको निर्धारित समयभन्दा केही पछि आफ्नै गाडीमा भित्रसम्मै पुग्नुभयो । तर, उहाँको सुरक्षार्थ परिचालित कार केडसहितका सवारी भने सर्वसाधारणको हुलमा परेर बाहिरै रहे ।
प्रहरी र सशस्त्रको सुरक्षा त थियो । तर, मर्यादा र अनुशासनमा रहन बिर्साएको सामाजिक सञ्जालकै प्रभावस्वरुप सम्माननीय राष्ट्रपति पुग्दा पनि भीड हल्ला गर्दै थियो । पहिला–पहिला राजा रहेका बेला जनता अनुशासित थिए । असन्तुष्टि भए पनि त्यस्ता साँस्कृतिक पर्वमा व्यक्त गर्दैन थिए । र, बाटो छाडिदिन्थे तर, अहिलेको जमानै फरक । कुमारी, भैरव, गणेशको रथ तान्ने भीड, टोलटोलको झगडा, कसैले कसैलाई पालो नछाडिदिने अहम् त्यहाँ प्रकट भयो । प्रशासनले पनि अघिल्लै दिन टोलका प्रमुख, गुठीका प्रतिनिधिसँग समन्वय र छलफल गरेको भए शायद यो अवस्था नआउन पनि सक्थ्यो ।
टिप्पणीहरू