योगेशको बचाउमा नविनाको आक्रमण

योगेशको बचाउमा नविनाको आक्रमण

सांसद तथा एमाले नेतृ नविना लामा विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी हुन् । अनेरास्ववियुको अध्यक्ष भएर नेतृत्व सम्हालिसकेकी उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्तिहरु आलोचनामा पर्ने गरेका छन् ।

खासगरी कुनै विषयमा आफ्ना स्पष्टीकरण दिन र अध्यक्ष केपी ओली निकट नेताहरुमाथि हुने सार्वजनिक आलोचनाको बचाउका लागि लामाले सामाजिक सञ्जाललाई माध्यम बनाउने गरेको आरोप छ । तर, उनका हरेक लेखाइमा भाषिक शुध्दता यति बिग्रिएको हुन्छ कि अर्थ नदिने शब्द पनि लेखिएको हुन्छ ।

पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय प्रकरणमा उनले पूर्वपर्यटन मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको बचाउमा फेसबुकमा स्टाटस लेखेकी छन् । जम्मा ४८ शब्दको उक्त स्टाटसमा एक दर्जन गल्ति भेटिन्छ । उनको लेखाइमा व्याकरण र वर्णविन्यास ध्वस्तै पारिएको छ ।No description available.

जस्तो ‘बाहिर’ लेख्नुपर्नेमा उनले ‘बहिरा’ लेखेकी छन् । ‘माइकालाल’ हुनुपर्नेमा ‘मैकालाल’ लेखिएको छ भने ‘भिजन’लाई विजन लेखेकी छन् । ‘जिस्किनेहरु’ लेख्नुपर्नेमा ‘जिक्किनेहरु’ लेखिएको छ । पाँच लाइनमा दर्जन गल्ति लेखेकी उनले पत्रकारहरुलाई पत्रकारिता सिकाउन पनि भ्याएकी छिन् ।

तर, त्यहाँ पनि गल्ति लेखिएको छ । ‘सही के हो गलत के हो बाहिर ल्याउने पो पत्रकारिता हो’ लेख्नुपर्नेमा उनले सही के हो गलत को हो बहिरा ल्याउने पत्रकारिता हो?’ भनेर लेखेकी छन् ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित भएकी,सामाजिक सञ्जालमा सक्रिय, सांसदजस्तो मान्छेलाई नेपाली भाषाको सामान्यभन्दा सामान्य ज्ञान पनि नभएको हो कि ? त्यहि स्टाटसको मुन्तिर सञ्जाल प्रयोगकर्ताहरुले यस्तै प्रश्न गरेका छन् । धेरैले उनलाई नेपाली भाषा राम्रोसंग सिकेर मात्र लेख्न व्यंगात्मक सुझाव पनि दिएका छन् ।

राजनीतिक दलहरुमा युवा नेतृत्वको बहस चलिरहेका बेला मुलुककै सबैभन्दा ठूलो पार्टीको नेता तथा जनप्रतिनिधिको यो बिजोग छ भने अरु सामान्य मान्छेको के होला ? हुन त, अध्यक्ष केपी ओलीलाई ‘बा’ भनेकै भरमा उनलाई सांसद र केन्द्रीय सदस्य हात लागेको आरोप एमालेकै नेता-कार्यकर्ताहरुले लगाउने गरेका छन् ।

त्यसैले उनको क्षमता पनि त्यसैगरी जाँचिने पो हो कि,के थाहा ! समाजको अगुवा भन्नेहरुले नेपाली भाषाको सम्मानका लागि मात्रै भने पनि शुध्द लेखे के बिग्रन्थ्यो होला र ?

टिप्पणीहरू