विदेश बस्ने सबै हुल्याहा हुँदैनन् हजुर
- रमण पनेरु
एनआरएनए र तिनका चुनावबारे लेख्न उति मन थिएन । एनआरएनएको छवि नेपाल मात्र नभई विदेशमा पनि त्यति सङ्लो छैन । नेपाल बस्नेले प्रवासी नेपाली भन्नेबित्तिकै युरो र डलर सोचे पनि प्रवासमै बसेकालाई एकअर्काको हैसियत राम्रै थाहा हुन्छ । त्यसैले प्रवासमै रहेकाहरूमध्ये एनआरएनए भन्नेबित्तिकै उही देशको फोहोरी राजनीतिको अडबांगो नक्कल बुझ्नेहरूको कमी छैन । देशको व्यवस्था देखेर आजित भएका र अवसरको खोजीमा विदेश पसेकाहरूलाई फेरि उस्तै गञ्जागोलमा पस्न रहर हुने कुरै भएन । एनआरएनएले ८० लाख नेपालीको प्रतिनिधित्व गर्ने दाबा गरे पनि धेरै नेपाली यसमा आबद्ध छैनन् । यसपालिको चुनावका कारण त झन् एनआरएनएले जर्मनी र नेपाल दुबै ठाउँमा उत्तिकै बदनामी बटुल्यो ।
जर्मनीमा चुनावै भएन । चुनावको खुब झ्याली पिटियो । निर्वाचन आयोग गठन भयो । उम्मेदवारको नामावलीसमेत प्रकाशन भयो । तर, आयोगले अन्तिम समयसम्म पनि तयारी नगरेको देख्दा केही सशंकित थिए ! आखिरमा निर्वाचन भएन । सहमतिका नाममा उठेका जतिलाई पद दिएर चुनाव टारियो । सात–आठ त उपाध्यक्ष नै बने रे भन्ने चर्चा छ । शुल्क तिरेकालाई मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित गराइयो । लोकतन्त्र र नियमका ठुल्ठूला गफ हाँकेर नथाक्नेहरूले नै आखिरमा लोकतान्त्रिक पद्धतिलाई लत्याए । यतिसम्म कि कार्यसमितिको सम्पूर्ण नामसमेत सार्वजनिक गरिएन न त्यसरी भागबण्डामा पद पाएकाहरूले खुलेर आफ्नो पदको प्रचार गर्न सके ।
जर्मनीको इतिहासमा एक पटक मात्र निर्वाचन भएको छ । एकै प्यानलबाट विभिन्न पदमा उठेकाहरूको मत जोड्यो भने हिसाब मिल्दैन । सदर मतसंख्या र विभिन्न उम्मेदवारको मत जोड्यो भने जोड फेल खान्छ । तर कमसेकम चुनाव भएकोमा सदस्यहरू खुशी थिए । त्यसअघि रेष्टुरेण्टमा बसेर भागबण्डाको आधारमा नेतृत्व चयन हुन्थ्यो र त्यस क्रममा झै–झगडा नभएको प्रायः कमै हुन्थ्यो । सायद त्यस्तै प्रवृत्तिका कारण धेरैजना नेपाली एनआरएनएसँग आबद्ध हुनै चाहँदैन थिए र त्यो अवस्थामा पछिल्ला घटनाक्रमले झन् अप्ठ्यारो बनाएको छ ।
एनआरएनएको चरित्र र नेपाली राजनीतिबीच उनीहरूको अपेक्षा कतै मेल खाँदैन । भ्रष्टाचार, आपराधिक पृष्ठभूमि, नियम कानुनको उल्लंघनलगायतका तमाम मुद्दामा मुछिएका धेरै व्यक्ति एनआरएनएमा पदासीन छन् । प्रमाण नभएसम्म ‘यस्तै त हो नि ब्रो !’ भनेर लेख्न नमिल्ने भएकाले मात्रै सबै कुरा यसैमा अट्दैनन् नभए आरोपको चाङको त पुस्तकै प्रकाशित गर्न मिल्छ । धेरै उच्च पदस्थलाई विदेशमा कसरी स्थायी हुनुभयो भनेर प्रक्रिया खुलाउन प्रश्न सोधे उनीहरूको असली अनुहार उदांगिन्छ । पत्रकारलाई पनि एनआरएनए भनेपछि उही डलर र युरो देखिन्छ होला । केही नभए विदेश बोलाउँछ कि भन्ने लोभ पनि होला । पहिलेका नेपालीले हरिद्वार र ऋषिकेशलाई तीर्थ मानेजस्तै अहिलेको तीर्थ अमेरिका, युरोप बनेको छ । नेपालीका लागि विदेश बस्नेहरूसँग युरोप, अमेरिकाको जगेडा प्रवेशाज्ञा (भिसा) नै हुन्छ कि जस्तो भन्ने व्यवहारको भुक्तभोगी त आफैं पनि भइएको छ । ‘भिसा पठाइदेऊ न यार !’ भनेर आउने आग्रहहरू त कति कति ।
एनआरएनएको उच्च पदमा पुगेकाहरू आर्थिक मामिलामा अन्यभन्दा बढी सबल देखिन्छन् । तीमध्ये धेरै होटेल र रेष्टुरेण्ट व्यवसायमा छन् । अन्य पेशा अपनाउनका लागि योग्यता चाहिन्छ तर पसल वा रेष्टुरेण्ट खोल्न त्यस्तो केही चाहिँदैन । पोर्चुगलमा त बेलाबेला सुनिएअनुसार परिवारलाई मात्र खान पाक्ने रेष्टुरेण्टहरू पनि छन् । ग्राहक आए ठिकै, व्यवसाय सञ्चालकका नाममा कागज बन्छ भनेर पनि त्यो धन्दा चलिरहन्छ । जर्मनीको हकमा भन्ने हो भने रेष्टुरेण्ट सञ्चालकले निम्नतम् ज्याला दिएर कामदार राख्न सक्दैनन् । नेपाली, भारतीय, चिनियाँ या जर्मन जोसुकै भए पनि अवस्था लगभग उस्तै हो । धेरैले बढी काम लगाएर नगद पैसा हातमा दिने गर्छन् । कर कार्यालयमा भने थोरै मात्रै काम गरेको विवरण बुझाइन्छ । ४५० युरोको भन्दा कम काम गर्दा निवृत्तिभरणलगायतको सुविधा कम्पनीले दिनुपर्दैन । यस्ता काममा धेरैजसो नेपाली विद्यार्थी नै संलग्न हुने गर्छन् ।
जर्मनी आउने बाटो भनेको विद्यार्थी, कामदार वा भ्रमणका लागि हो, कामदारका रूपमा आउनेहरू कि रेष्टुरेण्टमा कुक बनेर आउने गर्छन् भने अन्यले कुनै कम्पनीको जागिरका लागि आउने गर्छन् ।
सन् २०१५ को शरणार्थी संकटपछि युरोपका सरकारहरूले कडाइ गर्न थालेसँगै नक्कली विवाह गरेर कागज बनाउन मद्दत गरेबापत केही समातिएका छन् । कतिलाई निगरानीमा राखिएको समाचार पनि बेलाबखत प्रकाशन हुने गरेका छन् । त्यस्तै, विद्यार्थी र औपेयर (केयर टेकर) भिसामा आउनेहरूका लागि कागजी प्रक्रिया मिलाइदिएबापत पैसा लिनेहरू टन्नै छन् । म्यानपावर व्यवसाय नेपालको सबैभन्दा कम लगानीमा बढी नाफा हुने व्यवसाय हो । सेवाका नाममा मेवा काट्ने अवसर मलाई पनि आएको थियो । बरु बढी बर्गर बेचिन्छ, मान्छे बेच्नेतिरचाहिँ लागिन्न भनेर जोगिइयो । नत्र अहिलेसम्म एनआरएनएको केन्द्रीय सदस्य नै भइन्थ्यो होला !
एनआरएन सम्मेलनताका काठमाडौंमा जे हर्कत भए, त्योभन्दा नराम्रा घटना यता भएका पनि छन् । विदेशमा अनुशासित नेपाली आएर अनुशासन तोडेको भन्ने होइन । ती जता गए पनि उस्तै पाराका हुन् । त्यता कोट लाएर उभिएकाले केही सुकिला मुकिला देखिए होलान् नत्र यता कट्टु–गञ्जीमा गरिएका हर्कतबाट धेरै जना अनभिज्ञ छैनन् । तर, सबैलाई उस्तै हुन् भन्नु गलत हुन्छ । सबै अपराध कर्म गरेरै सम्पन्न भएका होइनन् । सबै शरणार्थीको रूपमा आएका पनि हैनन् । नारायण गाउँले, गणेश पाण्डे, शपिला राजभण्डारी, नवराज रोस्यारालगायतले चुनाव जिते पनि हुन्थ्यो भनेर लागेकै हो । तर, फेरि त्यस्तै व्यक्ति अगाडि बढ्दैनन् ।
नारायण गाउँलेलाई परिचयको आवश्यकता पर्दैन । फेसबुक चलाउनेमध्ये उनको प्रशंसक नभएका थोरै होलान् । गणेश पाण्डे पोर्चुगल बसेर पत्रकारिता सँगसँगै प्रवासी दैनिकीमा व्यस्त छन् । पोर्चुगलका धेरै गलत कामको विरोध र भण्डाफोरमा अघि छन् । शपिला राजभण्डारीले नेपाली उत्पादनलाई विदेशमा बजार प्रवद्र्धन गर्नेबारे भनेका कुराले मन छोएको थियो । उनीप्रतिको अरुको धारणा सुन्दा पनि सम्मान झन् बढेको हो । रोस्यारा नेपालमै हुँदा पनि विद्यार्थी राजनीति गरेर अध्ययनका लागि जर्मनी पसेका हुन् । विद्यार्थी भाडामा ३३ प्रतिशत छुटको माग गर्दा आन्दोलनमा घाइते भएर अस्पताल भर्नाको तस्बिर पत्रिकामा छापिएको देख्दा बेग्लै सम्मान जागेको थियो । आइटीमा जागिर र व्यवसाय गर्दै बसेका उनले नेपाली विद्यार्थीको हकहितका लागि राम्रै काम गरेका छन् । ‘नेप्लिज लिभिङ इन जर्मनीमा’ उनकै आग्रह टार्न नसकेर ५÷७ वर्षदेखि विद्यार्थी र अन्यलाई मसमेत थुप्रैले निःशुल्क परामर्श दिन थालेका हौं । हाल सो समूहमा १७ हजार बढी सदस्य छन् । ६ हजार बढी नेपाली भएको जर्मनीमा सदस्य संख्या हजार पुगेको उनकै अध्यक्षतामा हो । तर, यी नाम लिएकाहरूको हकमा एनआरएनएको राजनीति त्यति अघि बढेन ।
उल्लिखितबाहेक एनआरएनएको राजनीतिमा परैबाट सहभागी तर सामाजिक जीवनमा अघि रहिरहने जीवा लामिछानेको नाम लिइएन भने अन्याय हुन्छ । खासमा एक व्यक्तिगत घटनाकै कारण पनि उनलाई सम्झन कर लागेको हो । एक जना साथीले काम नपाएर हैरान भएको बेला फेसबुक सन्देशका आधारमा चिनजान नै नभए पनि सोझै फोन नम्बर दिएर सम्पर्क गर्न लाएका थिए । विस्तारमा नगई भन्नुपर्दा ऊ अहिले काम गरेर यतै बसेको छ । जीवाको नाम ‘चिना हराएको मान्छे’ मा पहिलो पटक पढेको हुँ । मह जोडीलाई ३५ लाख दिएर चलचित्र बनाऊ भन्ने मान्छेले यति सजिलै सम्पर्क नम्बर देलान् र सहयोग गर्लान् भन्ने लागेको थिएन । ‘महको म’ मा पनि उनको गुणगान पढिएको थियो । किताबमा रुचि भएकाले ‘सर्सर्ती संस्सार’का कारण पनि चिनिएका हुन् । तर, सो पुस्तक कर्ण शाक्यकै पुस्तकजस्तै आडम्बरी होलान् भनेर पढ्ने आँट थिएन । पछिल्ला दिनमा उनको साहित्यको पुरस्कारबारे थाहा पाएर झनै वाह ! भन्न मन लागेको थियो । यी भला मानुसप्रतिको कृतज्ञता कुनै दिन भेटेरै प्रदान गरिइनेछ । त्यसैले सबै एक नासका छैनन् र एकनासका छन् भनी सोच्नु यस्ता व्यक्तिप्रति पनि अन्याय हुन्छ ।
यहाँ नाम लिएर साध्य नहुने ठूलो जमात छ । विद्यार्थीका रूपमा आएर राम्रो काम गरी यतै बसेका थुप्रै छन् । कतिपय सोझै ठूला कम्पनीमा रोजगारीका लागि पनि आएका छन् । आफ्नो किसिमको संघर्ष गरेर अघि बढ्नेहरूको पनि ठूलो संख्या छ । अहिले त एमबिबिएस गरेर यता आउनेहरूको पनि संख्या बढ्दो छ । नियम, कानुन पालना गरी बसिरहेकाहरू पनि थुप्रै छन् । हो, उनीहरूको त्यति प्रचार नभएको हुन सक्छ । तर, हुँदै नभएका होइनन् । मैले नचिनेका र नजानेका पनि अझ धेरै हुन सक्छन् । त्यसैले काठमाडौंमा भएका घटनाले सबैको चरित्र यस्तै भनेर भनिहाल्नु उचित हुँदैन । एनआरएनए पदाधिकारीले सबै नेपालीको चरित्रको प्रतिनिधित्व गर्दैनन् । एनआरएनए पनि गुण–दोषले भरिएका मान्छेहरूको संस्था हो । भित्तेलाई सरकारले समातेको अवसरमा उनका सबै गीत दोहो¥याएर हेरेपछि ‘हामी यस्तै त हो नि ब्रो !’ मुखैमा झुन्डिएको थियो । यसो सोचें एनआरएनएको चरित्रको चर्चा चलिरहेका बेला यो बोलले पनि हामीलाई बुझ्न मद्दत गर्छ कि !
टिप्पणीहरू