एउटै जिल्लामा तलकाले पाउने, माथिकाले नपाउने

एउटै जिल्लामा तलकाले पाउने, माथिकाले नपाउने

महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोपहरु उपल्लो डोल्पाका सर्वसाधारणले पाएका छैनन् ।

१२ वर्षदेखि १७ वर्ष उमेरसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षदेखि माथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप जिल्लाका अन्य पालिकामा लगाइएको छ । तर उपल्लो डोल्पाका तीन पालिकाका सर्वसाधारणले अहिलेसम्म खोपको अनुहारसमेत देखेका छैनन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । तर सूचनामा उपल्लो डोल्पामा खोप लगाउन नसकिने उल्लेख छ ।

सीसीएमसीसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको छ । केन्द्रमा यस्तो निर्णय भए पनि उपल्लो डोल्पामा विद्यार्थीले सो समयमा पनि कोरोनाविरुद्धको खोप नपाउने भएका हुन् ।

त्यसैगरी खोप कार्ड नभएका सर्वसाधारणले माघ ७ गतेदेखि सरकारी सेवा प्राप्त गर्न नसक्ने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण् थप पीडित हुने भएका छन् ।

लगातारको हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पाका तीन पालिकाका सर्वसाधारणलाई जाडो महिनाभर खोप लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण थप अप्ठेरोमा परेका हुन् ।

हिमपातका कारण उपल्लो डोल्पाका स्थानीय बन्धक जस्तै भएका छन् । बाटो सबै हिउँले पुरिदिएपछि महिनौंदेखि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

टिप्पणीहरू