भक्तपुरको सिडिओ कार्यालय पनि बन्द
कोरोनाको तेस्रो लहरको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अत्यावश्यक बाहेकका अन्य सेवा सुविधा बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनले हालका लागि सम्पूर्ण सेवा सुविधा बन्द गर्ने निर्णय गरेको हो ।
जनसेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क हुँदा कोरोना संक्रमण बढ्ने बताउँदै प्रशासनले आजबाट लागु हुने गरी सम्पूर्ण कामकाज रोकेको छ । कार्यालयले तत्कालको निम्ति नागरिकता, नागरिकताको प्रतिलिपि, संघ संस्था र नाबालक परिचयको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो । तर, शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहने प्रशासनले जानकारी गराएको छ ।
तर कार्यालयले सर्वसाधारणलाई पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यक रूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्कको प्रयोग गर्न र भीडभाड नगर्न आग्रह गरेको छ । अत्यावश्यक काम लिएर सरकारी कार्यालय जानेलाई खोप कार्ड अनिवार्य गरिएको छ ।
टिप्पणीहरू