बुस्टर डोज लगाइदिनेलाई नै कोरोना संक्रमण
मध्यपुर थिमी नगरपालिकामा कोरोनाविरुद्धको तेस्रो खोप अर्थात् बुस्टर डोज दिँदै आएका स्वास्थ्कर्मीहरुमा नै कोरोना देखिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएको हो । उनीहरुमा कोभिड पोजिटिभ देखिएपछि खोप कार्यक्रम नै स्थगित भएको छ ।
वडा नम्बर १ देखि ३ सम्म स्थगित खोप कार्यक्रम पर्सिबाट सञ्चालनमा आउने नगरपालिकाका स्वास्थ्य अधिकृत भागिरथ अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सर्वाधिक धेरै वडा नम्बर ४ का स्वास्थ्यकर्मीहरु संक्रमणको सिकार बनेका छन् । उक्त वडामा खोप कार्यक्रमका इञ्चार्ज बाहेक सबैमा संक्रमण पुष्टि भएको हो ।
एक जना बाहेक सबैमा संक्रमण पुष्टि भएपछि खोप कार्यक्रम ५ दिनलाई स्थगित गरिएको अधिकारीले बताए । खोप केन्द्रबाट खोप दिन असम्भव भए पनि नगरभित्रका अस्पतालबाट लक्षित समुदायलाई खोप दिइने नगरपालिकाले जानकारी गराएको छ ।
मध्यपुर थिमी नगरपालिकाका स्वास्थ्य, लेखा तथा स्टोरमा काम गर्ने कर्मचारी संक्रमण देखिएको छ । स्रोतका अनुसार नगरका कर्मचारीहरुले कोभिड टेष्ट गराएका छैनन् । त्यसैले प्रायः सबैमा कोभिडका लक्षणहरु देखिएको छ । स्रोतले भन्यो, ‘कोभिड परीक्षण गरेमा नगरका अधिकांश कर्मचारीमा पोजिटिभ देखिन्छ, तर कसैले टेस्ट गरेका छैनन् ।’
टिप्पणीहरू