प्रेस कार्ड बोकेर नक्कली नोटको कारोबार

प्रेस कार्ड बोकेर नक्कली नोटको कारोबार

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुई जनाविरुद्ध म्याद थप गरि अनुसन्धान थालिएको छ । चितवनको भरतपुर महानगरपालिका ३, बेलचोकस्थित फेन्सी पसलमा कपडा खरिद गर्न गएकी एक महिला र उक्त घटनामा संलग्न सौर्य दैनिकको प्रेस कार्ड बोकेका एक युवकमाथि आवश्यक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको हो ।

नक्कली नोटको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार बिहान साढे १० बजेको समयमा स्थानीय २५ वर्षीया पबिता घतानी र सोही दिन राप्ती नगरपालिका ७ का २७ वर्षीय गगनलाल तामाङलाई समातेको थियो ।

उनीहरुलाई कपडा खरिद गर्दा पबिताले दिएको नोट नक्कली भएको आशंका र सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले बताएका छन् । सूचना पाउनासाथ घतानीलाई पक्रँदा उनको साथबाट थप १० थान एक हजार दरका नोट फेला परेका थिए ।

गगनलाल तामाङलाई पनि उनी बसेको होटलबाट ल्यापटप, मोबाइल, प्रेस कार्डसहित प्रहरीले लगत्तै समातेको थियो । अहिले पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू