बाबुरामलाई मन्त्री दिन महेन्द्रको ‘बलि’
नेपालको मधेश आन्दोलन पनि नेपालका कम्युनिष्टहरुजस्तै तितरबितर, छिन्नभिन्न र मन भाँड्ने तहमा पुगेको छ । केही समय मिलेरै उपेन्द्र यादवहरुसँग लड्दै, पछि केपी ओलीसँग मोर्चाबन्दी गर्न पुगेका महन्थ ठाकुर र राजेन्द्र महतोहरु नै अहिले एक ठाउँमा बस्न नसक्ने अवस्थामा पुगेका छन् ।
राजेन्द्र पार्टी कार्यालय जान छाडेको धेरै भयो । उनी आफ्नो आगामी राजनीतिक भूमिकाबारे विचार गरिरहेका छन् । सद्भावना पार्टी जगाउने वा अर्को धार निर्माण गरेर अगाडि बढ्ने भन्ने टुंगोमा पुगिसकेका छैनन् । उनीहरुबीचको सम्बन्धमा दरार आउनुको कारण हो, महन्थले पूर्वतमलोपालाई मात्रै च्याप्नु ।
अर्कातिर, जसपाभित्र डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको शीतयुद्ध उच्चस्तरमा पुगेको छ । महन्थ पार्टीबाट अलग भएपछिको सहअध्यक्षमा बाबुरामले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् ।
उनले आफ्नो समूहबाट एकजना मन्त्रीको माग गरेका छन् । त्यसै कारण उपेन्द्रले कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवलाई पद छाड्न निर्देशन दिए पनि उनले मानेनन् ।
अब बाबुराम–उपेन्द्रको झगडा वार कि पारको अवस्थामा पुगेको बताइन्छ । हिजोआज बाबुराम ‘अर्ली महाधिवेशनबाट टुंगोमा पुगौँ’ भन्दै छन् । हालै बर्दिबासमा आयोजित मधेस प्रशिक्षण कार्यक्रममा पनि गएनन् । उपेन्द्रचाहिँ पेलेर जाने मनस्थितिमा देखिन्छन् ।
उनी मधेसमा एक्लै पार्टी हाँक्न सक्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढेका छन् । बाबुरामले चाहिँ पुरानै वामपन्थी समूहहरुलाई एकीकृत गरेर जाने विकल्पबारे सोचिरहेको सुन्नमा आएको छ ।
अहिले मधेसमा कि केपी ओलीको सक्रियता छ, कि सिके राउतहरुको समूह चलायमान छ । सिके राउतका चार–पाँच जना भए पनि भाटा लिएर दौडिन्छन् । उनले मधेशको २५ प्रतिशत मनोविज्ञान आफूतिर तानेका छन् । कांग्रेसका नेताहरु मधेश झरेका छैनन् । माओवादी पनि त्यहाँ खासै देखिएनन् ।
टिप्पणीहरू