निर्माणाधीन पुल भत्किनुमा को दोषी ?

निर्माणाधीन पुल भत्किनुमा को दोषी ?

मुगु–हुम्ला लिंक रोडअन्तर्गत मुगु कर्णाली नदीको भट्टेचौरस्थित रुघा घाटमा निर्माणाधीन बेलीब्रिजको काम नसकिँदै भत्किएको छ ।

डोजरको बकेटले सपोर्ट गर्न खोज्दा धान्न नसकेर बेलीब्रिज भत्किएको जलन रवि चक्र जेबी निर्माण सेवाका प्रोप्राइटर बखतबहादुर मल्लले जानकारी दिए । काम सकिन नौ मीटर मात्र बाँकी रहेको अवस्थामा पुल भत्किएको हो ।

५५ मीटर लामो पुल निर्माणका लागि छायाँनाथ रारा नगरपालिकाले ५ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरी ठेक्का दिएको थियो । निर्माण सम्पन्न हुनै लाग्दा भत्किँदा पनि यसबारे कुनै अनुसन्धान गरिएको छैन ।

कसरी भत्कियो भन्नेबारे स्वयम् इञ्जिनियरलगायत प्राविधिकहरुले आधिकारिक जानकारी नआएको बताएका छन् । नगर प्रमुख हरिजंग शाहीका अनुसार बेलीब्रिज भत्किँदा फेरि पार्टपुर्जा खोलेर निर्माण गर्नु पर्ने अवस्था छ ।

ग्रामीण पहुँच कार्यक्रमले मुगु–हुम्ला लिंक रोड निर्माण कार्य पूरा गरिसकेको र मुगु कर्णाली नदीको भट्टेचौरमा बेलीब्रिज बनाउने काम नगरले गरेको हो ।

कर्णाली नदीको भट्टेचौरमा बेलीब्रिज नहुँदा मुगु र हुम्लामा सवारी साधन सञ्चालन गर्न एवम् खाद्यवस्तु,विकास निर्माणका सामग्री ढुवानीमा कठिनाई छ ।

टिप्पणीहरू