राज्यको आँखामा नपरेको डोल्पावासीको दुःख
उपल्लो डोल्पा भौगोलिक रुपमा निकै विकट छ । सामान्य दैनिकीको निम्ति नुन तेल लिनसमेत ढाढा पुग्नपर्ने बाध्यता स्थानीयले वर्षौंदेखि भोग्दै आएका छन् । वर्ष दिनमा छ महिना हिउँले ढाक्ने र आधा वर्ष मात्र दैनिकी चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमासमेत जीवन चलाउनुपर्ने अवस्था छ ।
राजधानी र मुलुकका अन्य क्षेत्रबाट उपल्लो डोल्पा पुग्न निकै महँगो खर्च हुन्छ । दूरीका हिसावले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा पुग्न धेरैजसोलाई फलामको चिउरा चपाए सरह हो । ठूलो जिल्लाको रुपमा परिचित भए पनि डोल्पावासीको दैनिक जनजीवन निकै कष्टपूर्ण रहेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टासी तुण्डुप गुरुङको भनाइ छ ।
‘दुई छाक भात खाने चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनु पर्छ । उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा राज्यलाई सामान्यझैँ लाग्छ । तर, काठमाडौँमा कुकुर मर्दा बजारभरि चर्चा हुन्छ,’ अध्यक्ष टासीले दुःखेसो पोखे । राज्यको स्रोत परिचालन र वितरण प्रणालीमा पक्षपात गरिँदा डोल्पावासीले दुःख पाएको उनको निचोड छ ।
उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकाले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने स्थानीय ग्याल्वो भोटेको धारणा छ ।
शे–फोक्सुण्डो गाउँपालिका ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसँग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिकस्थल शे–गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ र पर्यटकीयस्थल फोक्सुण्डो ताल पनि यहीँ छ । उक्त ठाउँमा पुग्न स्थल मार्ग हुँदै सदरमुकामबाट कम्तिमा दुइ दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर जानुपर्छ । सवारी साधनका अन्य माध्यम र विकल्प छैनन् ।
सडक सञ्जालसँग नजोडिएको उक्त क्षेत्रमा हिमचितुवा, कस्तुरी र जडिबुटी प्रशस्त पाइन्छ । देशमा व्यवस्था धेरै पटक बदलियो तर डोल्पाको अवस्था नबदलिएकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
उपल्लो डोल्पामा सँधै चिसो हुन्छ । हिउँदमा हुने भारी हिमपातले बढाउने चिसो खपिनसक्नु हुन्छ । तापक्रम माइनसमा झरे पनि स्थानीयलाई आफ्नो दिनचर्या चलाउनुको विकल्प छैन ।
सामान्य नागरिकभन्दा अलि हुनेखानेहरु जाडोमा गर्मी ठाउँतिर झर्छन् । तर अधिकांश सर्वसाधारण उपल्लो डोल्पामै अड्किनुको विकल्प छैन । मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका स्थानीय चिसोसँग लड्छन् तर थातथलो छाड्न सक्दैनन् ।
हिउँमा पनि चौंरी, याक र घोडामा सामान बोकाएर जीवन निर्वाह गर्नु पर्दाको डोल्पाली धेरै दुःखी छन् । तल्लो डोल्पा झर्नेहरू हिउँदका करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेण्टमा गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन् ।
उपल्लो डोल्पालीले गर्मी ठाउँ झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ । तर, पनि राज्यको आँखामा नपर्दा डोल्पावासी दुःखी छन् ।
टिप्पणीहरू