भीड नगर्न आदेश दिएकै कार्यालयमा चर्को भीड
कोरोना महामारीको जोखिमलाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालय, लमजुङमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चर्को भीड लागेको छ । सरकारले राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो ।
पछिल्लो सातादेखि प्रशासनमा राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभएको छ । सरकारले गत वर्षबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको हो । राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिच्ने कार्य सुरु भए पनि वितरण भने अहिलेसम्म भएको छैन ।
परिचयपत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचयपत्र नआएको प्रशासनले जनाएको छ । दैनिक ६० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्र लिन आउने गरेको जिल्ला प्रशासनले जानकारी गराएको छ ।
यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचयपत्रको निम्ति विवरण संकलन गर्ने गरिए पनि पछिल्लो साता परिचयपत्रकै लागि मात्र आउने सेवाग्राहीसमेत बढेका छन् ।
सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचयपत्र बनाउने सेवाग्राही बढेका हुन् । यसअघि एउटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले अहिले सेवाग्राहीको चाप बढेपछि दुईवटा स्टेसनमार्फत सेवा दिएको जानकारी गराएको छ ।
तत्कालका लागि परिचयपत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर भने पाउन सक्ने छन् । प्राप्त परिचयपत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचयपत्र लिन प्रशासन कार्यालय जानै पर्ने भएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्र प्रवाह हुँदै आएको राष्ट्रिय परिचयपत्र जिल्लाका सबै स्थानीय तह र वडाबाट दिने तयारी भइरहेको बताइएको छ ।
टिप्पणीहरू