राष्ट्रियसभा निर्वाचनमा सत्ता गठवन्धनका चार उम्मेद्वार विजयी
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम र लुम्बिनीमा सत्ता गठवन्धनका उमेद्धारहरु विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा सुदूरपश्चिमबाट महिलातर्फका उमेद्धार गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी हुन् ।
एकीकृत समाजवादीकी नेतृ शाहलाई गठवन्धनले साझा उम्मेदवार बनाएको थियो । उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाएकी छिन् । शाहकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।
शाह निर्वाचित भएको आधिकारिक घोषणा भने निर्वाचन आयोगले गरेको छैन । सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने जारी छ ।
यता, लुम्बिनी प्रदेशमा पनि गठवन्धन उम्मेद्वारले जित दर्ता गरेका छन् । एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे, राजमोका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् । गठवन्धनका तीनै उम्मेदवारले समान चार हजार ३७४ मत्भार पाएका छन् ।
पराजित एमालेका उम्मेदवारले तीन हजार ३१२ मतभार पाएका छन् । एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता प्रतिष्पर्धामा थिए ।
राष्ट्रियसभाको रिक्त १९ सीटका लागि भएको निर्वाचनको अन्य प्रदेशमा भने मतगणना जारी छ ।
टिप्पणीहरू