हिमपातले सडक,विद्युत र सञ्चार अवरुध्द,जनजीवन प्रभावित

हिमपातले सडक,विद्युत र सञ्चार अवरुध्द,जनजीवन प्रभावित

हिमालपारीको जिल्ला मुस्ताङको अधिकांश भू–भागमा भारी हिमपात हुँदा चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातले सडक,विद्युत अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्क टुट्दा चिसोले प्रभावित जनजीवन थप अस्तव्यस्त बनेको छ ।

हिमपातले बेनी–जोमसोम–कोरला सडकखण्डको मुस्ताङतर्फ अवरुध्द भएको हो । बिहीबार बेलुकादेखि शुक्रबार बिहानसम्म हिमपात भएका कारण जिल्लाका सडकमा यातायातका साधनहरु सन्चालन हुन सकेका छैनन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाको पाँचवटै गाउँपालिकामा हिमपात भएको छ । ‘सडकमा हिउँ जमेका कारण सवारी सञ्चालन गर्ने अवस्था छैन’,प्रजिअ शर्माले भने । अहिले हिमपातले गर्दा सडक सुचारु नभएकाले म्याग्दीबाट गाडी मुस्ताङतर्फ नपठाउनका लागि खबर गरिएको पनि उनले जानकारी दिए ।

उपल्लो मुस्ताङका दुईवटा गाउँपालिका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बिहानदेखि सञ्चार सम्पर्क टुटेको प्रजिअ शर्माको भनाइ छ । अहिलेसम्म कुनै पनि धनजनको क्षति नभए पनि चिसो अत्यधिक बढ्नुका साथै सडक तथा सञ्चार अवरुद्ध भएको उनले बताए । मुस्ताङको तल्लो भेगको घाँसादेखि लेतेसम्म सामान्यतयाः ठूला गाडी चल्न सक्ने अवस्था रहेको भए पनि अन्यत्र कतै पनि कुनै पनि प्रकारको गाडी चल्ने अवस्था छैन ।

बिहीबार बेलुका हावाहुरीसहितको वर्षाले गर्दा विद्युतसमेत अवरुद्ध भएको छ । नीलगिरी उपभोक्ता सहकारीको कार्यालय प्रमुख सनप्रसाद थकालीले विध्युत अवरुद्ध भएको बताए । मुस्ताङमा नीलगिरी उपभोक्ता सहकारीमार्फत विद्युत वितरण हुने गरेको छ ।

यता,हिमपातले सितोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी बालीलाई राम्रो गर्ने सितोष्ण बागवानी फार्म मार्फाका निमित्त प्रमुख पद्य आत्रेयले बताएका छन् ।

-अमृतप्रसाद पौडेल

टिप्पणीहरू