पूर्वमन्त्रीविरुद्ध बलात्कार जाहेरी दर्ता, पक्राउ पूर्जी जारी गरिँदै
जबरजस्ती करणीको आरोप लागेका पूर्वमन्त्री तथा मुगुका एमाले सांसद मोहनलाल बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले दिएको जाहेरी आज दर्ता भएको छ ।
माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर सांसद बानियाँले जबरजस्तीकरणी गरेको भन्दै दिएको जाहेरी आज दर्ता भएको हो । केही दिनअघि सांसद बानियाले होटलमा रात बसेको बेला शिक्षिकामाथी परिवार नियोजनको अस्थाई साधन कण्डम प्रयोग गरी दुई पटकसम्म बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै उनले जाहेरी दिएकी थिइन् ।
शिक्षिकाले दिएको जाहेरीमा हस्ताक्षर नभएका कारण दर्ता गर्न ढिलाई भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आज जनआस्थासँगको कुराकानीमा बाँके प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेले शिक्षिकाले जाहेरी दिने बेलामा हस्ताक्षर नगरेको र आज हस्ताक्षर गरेपछि दर्ता गरिएको बताए ।
उनले उक्त विषयको उजुरी दर्ता आज भए पनि अनुसन्धानको प्रक्रिया यसअघि नै सुरु गरिएको जानकारी दिएका छन् । अनुसन्धान अन्तिम चरणमा रहेको जानकारी दिँदै प्रवक्ता न्यौपानेले शिक्षिकाको स्वास्थ्य परीक्षण भइसकेको र रिर्पोट आउन बाँकी रहेको पनि बताए । अब छिट्टै बानियाविरुद्ध पक्राउ पूर्जी जारी गरिने उनको भनाइ छ ।
टिप्पणीहरू