बन्दमा सामेल सिन्धुलीका १६ भाइ सरकारी नियन्त्रणमा
नेपाल बन्दको बेला जबर्जस्ती गरेको भन्दै १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका ४ ढुङग्रेबासचोकस्थित बीपी राजमार्ग तथा वडा नम्बर ६ बजार क्षेत्रमा जबर्जस्ती गाडी तथा बजार बन्द गर्दै हिंडेका उनीहरुलाई प्रहरीले समातेको हो ।
पक्राउ पर्नेहरुमध्ये ११ जना कार्यकर्ता विप्लव निकट नेकपाका रहेका छन् । ६ दलीय गठबन्धनले गरेको बन्द सफल पार्न भन्दै विप्लवको नेकपासहित क्रान्तिकारी दलित मुक्तिमोर्चा,देशभक्त जनगणतान्त्रिक मोर्चा,क्रान्तिकारी माओवादीका कार्यकर्ता बजारमा ओर्लिएका थिए ।
पक्राउ पर्नेमा विप्लप समूहका जिल्ला सेक्रेटरी गोपाल ब्लोन, सहायक ईन्चार्ज बुध्दि बि.क, कार्यकर्ता डम्बरबहादुर पाख्रिन, अर्जुन कार्की (डोरी),जीवन बर्देवा, प्रकाश बर्देवा,रिकमान वाइबा, पासाङ्ग तामाङ,फिक्कल गाउँपालिका ईन्चार्ज निस्वार्थ राई, नेकपाको न्याय विभाग प्रमुख कपिला भनिने शेरबहादुर वाइबा र शशी राई रहेका छन् ।
त्यस्तै,दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य जीवन परियार,देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला सचिव बालकृष्ण थापा तथा जिल्ला संयोजक ढक्कप्रसाद देवकोटा रहेका छन् । क्रान्तिकारी माओवादीका जिल्ला सदस्य हरि बस्नेत र श्रमिक सायुदायिक मोर्चा नेपालको केन्द्रीय सदस्य जीवन नेपाली पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरिक्षकको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आवश्यक अनुसन्धानपश्चात आजै साढे चार बजेको समयमा छाडिएको सिन्धुलीका प्रहरी प्रवक्ता मनोज कुमार लामाले जानकारी दिनुभयो ।
टिप्पणीहरू