बेलायतका राजदूत उर्जा मन्त्रालयमा
ऊर्जा,जलस्रोत तथा सिन्चाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकबाट काम गरिरहने नेपाल सरकारको प्रतिवद्धता रहेको बताउनुभयो ।
नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, इ–मोबिलिटी,न्यून कार्बन पूर्वाधार र इको–टुरिज्मको प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नेपालको नवीकरणीय ऊर्जा, वातावरण व्यवस्थापनमा बेलायत सरकारको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । महासागरहरूका पारिस्थितिक प्रणाली सन्तुलन राख्न र ग्योबल वार्मिङलाई नियन्त्रण गर्नका लागि हिमालयको महत्वपूर्ण भूमिका रहने स्मरण गराउँदै मन्त्री भुसालले भन्नुभयो, “हामी हिमालय क्षेत्रको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गर्दछौँ ।”
ऊर्जा क्षेत्रमा सन्तुलन कायम राख्नका लागि आफूले जलाशययुक्त आयोजना प्रवर्धनलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री भुसालले बूढीगण्डकी, दूधकोशी,नलगाढजस्ता आयोजनालाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । जलविद्युत स्वच्छ ऊर्जा भएकाले यसको प्रवर्धनका लागि नेपाल सरकारले प्राथमिकता दिएको र ऊर्जा क्षेत्रको विकासमा मिश्रित ऊर्जा उत्पादनमा ध्यान दिएको बताउनुभयो । बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै मन्त्री भुसालले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्नुभयो ।
त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताउनुभयो । उहाँले नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।
टिप्पणीहरू