मन्दिरका पुजारी पनि बम राख्दै हिंड्ने ?

मन्दिरका पुजारी पनि बम राख्दै हिंड्ने ?

प्रदेश नम्बर १ झापाको विर्तामोड बसपार्क र दमक सिवानमा कुकर बम राखेको भन्दै प्रहरीले नौ जनालाई समातेको छ । एमसीसीको विरोधमा मुलुक आन्दोलित बनेको बेला थप आतंक मच्चाउन बम राखेको आरोपसहित प्रहरीले तिनलाई समातेको हो ।

पक्राउ पर्नेमा झापा कन्काई न.पा.–३ का भिष्म थापा,दमक न.पा.–९ की देवी बास्कोटा गुरागाई, कन्काई न.पा.४ कोटीहोममा पुजारी काम गर्ने कुमार भन्ने यमदत्त सिटौला,शिवसतासी न.पा.–१ का शरुण लिम्बू भन्ने दिलकुमार सामेखाम,संखुवासभा खाँदवारी न.पा.–१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने मनमोहन दाहाल,झापा गौरीगञ्ज गा.पा.–३ का आनन्द भन्ने अनन्तप्रसाद गिरी, गौरादह न.पा.–५ का प्रदीप थापा र गौरीगञ्ज गा.पा.३ का बिजयकुमार दास हलुवाई रहेका छन् । यस काण्डका प्रमुख योजनाकार भने झापा गौरादह न.पा.–२ का सुमनकुमार कार्की रहेको प्रहरीको दावी छ ।

उनीहरुले झापाको विर्तामोड नगरपालिका–४ स्थित पश्चिम बस स्टेण्डमा गत माघ ९ गते र माघ १३ गते दमक नगरपालिका–५ को सिवान चर्चको गेटमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राखेर हिमाल सुरक्षा परिषद नामको पर्चाहरु छरेको प्रहरीले बताएको छ ।

त्यसपछि घटनाको छानबीन गर्न १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली संयुक्त रुपमा परिचालन गरिएको थियो । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानहरुबाट पक्राउ गर्न सफल भएको जानकारी दिएको छ ।

आरोपितहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान,हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैङ्कको चेकबुक २ थान, केन्द्रीय कमिटी,कोशी अञ्चल,मेची अञ्चल कमिटीको हस्ताक्षर मात्र भएको छापहरु १० थान, विभिन्न कम्पनीका ७ थान मोबाइल फोन समेत बरामद भएको छ ।

पक्राउ परेका नौ जनाको समूहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को बिष्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,झापाले जनाएको छ ।

टिप्पणीहरू