अरुलाई झोले भन्ने,आफैँ झोला भिर्ने
सामाजिक अभियन्ता भनेर चिनिने ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ पूर्वपञ्चहरुको पार्टी राप्रपामा प्रवेश गरेर पाचौं प्रवक्ता नियुक्त भएका छन् । ‘सुशासनका लागि हाम्रो नेपाल, हामी नेपाली अभियान’को संयोजकसमेत रहेका शाही अभियानका केही सदस्यहरुसहित आज राप्रपामा मिसिएका हुन् ।
शाहीको टोलीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका छन् । राप्रपामा मिलेसँगै शाहीले केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी पनि हात पारेका छन् ।
आफूलाई स्वतन्त्र अभियन्ता भन्ने शाही यसअघि राजनीतिक दलका नेता-कार्यकर्ताविरुध्द उग्ररुपमा प्रस्तुत हुने गर्थे । उनीमाथि गणतन्त्र विरोधीको आरोप पनि थियो । त्यसलाई उनी दलका झोलेहरुले लगाएको निराधार आरोप भन्थे । ‘तीन करोड नेपालीको साथ छ’ भन्दै हिँड्ने उनलाई ‘तपाईं राजावादी हो ?’ भनेर सोध्दा ‘होइन” भन्ने गर्थे ।
तर, अन्तत: उनी राजतन्त्रको मुध्दा बोकेर हिँडेको राप्रपामा प्रवेश गरेर राजावादी मात्र बनेका छैनन्, उनकै भाषामा औपचारिकरुपमै झोले पनि भएका छन् ।
राप्रपामा मिसिएलगत्तै प्रवक्ताको जिम्मेवारी हात पारेका उनै ‘झोले’लाई पार्टीका अध्यक्ष लिङदेनले सुशासन विभाग प्रमुखसमेत बनाउने बताएका छन् । आजको कार्यक्रममा लिङदेनले राप्रपाले सुशासन विभाग बनाउने र त्यसको जिम्मा शाहीलाई लगाउने बताए । शाही राप्रपाको पाँचौ प्रवक्ता हुन् ।
राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला,मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्ता छन् ।
टिप्पणीहरू