महरा थुनिएको खोरतिर

समाज सुधार्ने भन्दै हामीले हतारमा कस्तोसम्म कानुन बनायौँ भने, घरबारै ध्वस्त हुने । पतिले समय दिएनन् भनेर उजुरी ग¥यो, पति सोझै जेल पुग्ने अनि आफूले खाना बोकेर जेलको ढोका रुँग्नुपर्ने ।

ख्यालख्यालको आफ्नै जाहेरीमा पति जेल परेपछि उल्टै जाहेरवाली पत्नी सुँक्कसुँक्क रुँदै ‘माफ गरिस्यो राजा’ भनेर बिलौना गरिहिँडेका घटना प्रशस्तै देखिन थालेका छन् । एउटा घटना हेरौँ, डिल्लीबजारस्थित सदरखोरको । निर्माण व्यवसायी पुष्करबहादुर सिंहले ज्ञानु शाहसँग ०७२ सालमा विवाह गरे । ठेकेदार भएपछि जहाँ–जहाँ काम छ, त्यहीँ पुग्नै प¥यो । यसक्रममा पत्नीलाई दिने समय पुगेन । पत्नीको शंका अन्तै लाग्यो कि भन्ने । त्यसपछि ज्ञानुले पतिलाई लाइनमा ल्याउन एउटा उजुरी ठेलिदिइन्, बैवाहिक बलात्कारको । आफ्नै जाहेरी त हो, दर्ता भएपछि पुलिसले जुम्लैबाट भए पनि समातेर काठमाडौं ल्याइहाल्छ र चाहेको बेलामा घरलाई समय दिन्छु भनी कायल गराएर बल्ल फिर्ता लिन्छु भन्ने उनको हिसाब थियो । जाहेरी दर्ता भयो ।

श्रीमान् पक्राउ परेपछि ज्ञानु खुशी भइन्, कम्तिमा छलफल त गर्न पाइने भयो भन्दै । तर, अदालतले किन केही कुरा सुन्थ्यो र ! पुष्करलाई पुर्पक्षका लागि कारागार चलान गरिदियो । अब प¥यो फसाद । पतिलाई तर्साउनका लागि मात्रै हालेको जाहेरीले आफैँ तर्सिनुपर्ने अवस्था आइलाग्यो । पुष्कर १२ दिन कारागारमा बसेर भ्यालेन्टाइन डेको अघिल्लो दिन, अर्थात् फागुन १ गते विहीबार छुटे, जाहेरवाली पत्नी र उनीबीच अदालतमा मिलापत्र भएको आधारमा । दुवै ठकुरी परिवारका, पत्नी ६ फिट अग्ली, स्कुटी चढेर खाना बोकी जेलको ढोका कुर्न जाने । पतिचाहिँ यसले ल्याएको चिजबिज खानु त परै जाओस्, मुख पनि हेर्न नपरोस् भनेर भेट्नै नमान्ने । पत्नी दिनभर कुरेर खाना त्यत्तिकै छाडी रुवाबासी गर्दै घर फर्कने ।

अर्को प्रसंग छ भक्तपुरको । पतिले पत्नीलाई त्यति वास्ता नगर्ने । कुन मुद्दा हाल्दा के हुन्छ भन्ने पर्याप्त सूचनाको अभावमा वैवाहिक बलात्कारले लाइनमा ल्याउँछ भन्ने कानुन व्यवसायीको रायअनुसार पत्नीले जाहेरीमा सहीछाप धस्काइन् । अनुमान थियो, प्रहरीले छलफल गर्न बोलाउँछ । मिलापत्र गरेर लोग्नेलाई लाइनमा ल्याइदिन्छ । तर, त्यस्तो भएन । अदालतले पतिलाई पुर्पक्षका लागि थुनामा पठाइदियो । उनी पनि चारखाल अड्डामै छन् । हालत उस्तै हो । पत्नी दिनदिनै जेलको ढोका कुर्न जाने, पति ज्यान गए भेट्न नमान्ने ।

त्यसो त उपत्यकाका चारवटा कारागारमा भक्तपुरबाट जाने कैदीमध्ये ८० प्रतिशत जबरजस्ती करणीका हुन्छन् । त्यसमाथि हालै जारी भएका नयाँ–नयाँ कानुनी ज्ञानको अभावमा जाहेरवालाले नै विरक्त हुनुपर्ने स्थिति बन्ने गरेको छ । अनि हिजोआज न्यायाधीशहरु सम्झौता गर्न डराउँछन् । पति–पत्नीबीचको यस्ता झमेलालाई शुरुमा मेलमिलाप केन्द्र पठाइदिए त्यहाँ मिल्ने सम्भावना हुन्थ्यो । तर, मुद्दाको शीर्षक ‘जबरजस्ती करणी’ हेरिसकेपछि अरु व्यहोरातिर ध्यान नदिई सीधै पुर्पक्षमा चलान गर्ने चलन छ । त्यस्तो हुँदा डिल्लीबजारस्थित सदरखोरमा ६ सय २० कैदी, बन्दीमध्ये जबरजस्ती करणीका एक सय ४५ जना छन् । केन्द्रीय कारागार र नख्खु कारागारमा पनि जबरजस्ती करणीका कैदी, बन्दी प्रशस्तै छन् ।

टिप्पणीहरू