प्रमुख अतिथि र नगर प्रमुखले आँखा चिम्लिएर सही धस्काएपछि…

प्रमुख अतिथि र नगर प्रमुखले आँखा चिम्लिएर सही धस्काएपछि…

बुटवल उपमहानगरपालिकाले केही दिन अघिमात्र आफ्नो ६३औं स्थापना दिवस भव्यताका साथ मनायो । साताव्यापी विविध कार्यक्रम गर्दै फागुन ३ गते उपमहानगरले स्थापना दिवस सम्पन्न गरेको हो ।

उपमहानगरले विशेष महत्वका साथ मनाएको स्थापना दिवस एउटा सानो त्रुटीका कारण आलोचित हुनुपरेको छ । सो अवसरमा उपमहानगरले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको थियो । तर, सम्मानपत्रमा उपमहानगर लेख्नुपर्नेमा (उपमहानरपालिका) लेखिएका कारण ‘दाँतमा ढुंगा लागे’ झैं भएको हो ।

सम्मानपत्र छपाइमा पर्याप्त ध्यान नपुग्दा यस्तो कमजोरी हुन पुगेको मेयर शिवराज सुवेदीले स्वीकार गरेका छन् । हतारमा छापिएकाले शुद्धाशुद्धि हेर्न नभ्याएको उनले बताए । सुवेदीले भने, ‘गल्ति मानिसबाटै हुने हो, हतारमा काम गर्दा त्रुटी हुनपुग्यो ।’सम्मानपत्र छाप्ने समयमा आफू पोखरामा रहेकाले हेर्न नभ्याएको उनको प्रष्टोक्ति छ । उक्त त्रुटीले तपाईंहरुको चर्को आलोचना भएको छ नि ? भन्ने जनआस्थाको प्रश्नमा मेयर सुवेदीले भने, ‘कहिलेकाँही मानवीय त्रुटी त हुन्छ, अब हामी यसलाई सच्चाएर फेरी अर्को बनाउँदै छौं ।’ सम्मानपत्र पाउने सबैको घरमै पुगेर पूरानोको सट्टा नयाँ दिइने बताइएको छ ।

‘यो सामान्य विषय हो, नागरिकतामा त नाम, ठेगानालगायतका विषय मिलेको हुँदैन । सम्मानपत्र हो यसलाई सच्चाउँछौं’, मेयर सुवेदीले भने । सम्मानपत्रमा प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, प्रमुख अतिथिका रुपमा एमाले नेता छबिलाल विश्वकर्मा र नगरप्रमुख सुवेदीको हस्ताक्षर छ ।

टिप्पणीहरू