माओवादी र समाजवादीको आन्दोलनमा एमालेका कार्यकर्ता पछिपछि
एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्ध भइरहेका आन्दोलनप्रति कटाक्षपूर्ण टिप्पणी गरिरहेका बेला उहाँकै पार्टीका कार्यकर्तासमेत सडकमा उत्रिन थालेका छन् ।
आज महोत्तरीमा भएको एमसीसीविरुद्धको प्रदर्शनमा सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँगै एमालेका कार्यकर्ता पनि मिसिएका हुन् । उनीहरुले एमसीसीको एजेण्डालाई संसद्मा टेबुल गराएर भित्रभित्रै अनुमोदन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै बर्दिबासमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले आफ्ना नेतालाई खबरदारी गरेका छन् । सर्वसाधारण, युवा तथा भ्रातृ संगठनका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणबद्धरुपमा अघि बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खड्काले जानकारी दिए ।
एमसीसी फिर्ता नभएसम्म महोत्तरीका हरेक देशभक्त नागरिकलाई संघर्षको अभियानमा सहभागी गराउने नेता खड्काको भनाइ छ । जनताको हित विपरीत नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने जानकारी दिए ।
यसअघि पनि माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो । नेताहरूले सबैलाई भ्रममा पारेर भित्रभित्रै षड्यन्त्र गरिरहेको विषयलाई मध्यनजर गर्दै आन्दोलनको आवश्यकता भएको वाइसीएल नगर कमिटीका इञ्चार्ज बाबु चौलागाईंले बताए । प्रदर्शनमा नेपाली काँग्रेस भने सहभागी थिएन ।
यता, एमाले अध्यक्ष ओलीले भने आज काठमाडौंमा आयोजित एक कार्यक्रममा एमसीसीविरुद्ध भइरहेका आन्दोलनको विरोध गर्नुभएको छ । माओवादी र एकीकृत समाजवादीतर्फ इंगित गर्दै उहाँले कार्यकर्तालाई सडकमा पठाएर नेताहरु सरकार जोगाउन मौन बसेको आरोप लगाउनुभएको हो ।
टिप्पणीहरू