एमसीसी लफडा अदालत पुग्यो, अब दर्ता कि फेरी दरपीठ ?

एमसीसी लफडा अदालत पुग्यो, अब दर्ता कि फेरी दरपीठ ?

आइतबार प्रतिनिधि सभामा टेबल भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने जिकिर गरिएको छ । तर, रिट दर्ता भएको छैन । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

यसअघि पनि एमसीसीविरुद्ध दुई वटा रिट सर्वोच्च पुगेको थियो । तर, सर्वोच्चले दर्ताका लागि लगिएका एउटा रिट दरपीठ गरेको थियो भने अर्को विचाराधीन अवस्थामा राखेको थियो ।

अधिवक्ता स्वागत नेपालले लगेको रिट अझै विचाराधीन राखिएको र अर्को दरपीठ भैकन न्यायाधीश इश्वर खतिवडाले सदर गरिदिनुभएको बताइएको छ ।

न्यायाधीश खतिवडाले एमसीसी संसद्को क्षेत्राधिकारको विषय भएकाले रिट दर्ता गर्न नमिल्ने ब्याख्या गरेको सर्वोच्च स्रोतले जनाएको छ ।

एमसीसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् भने जनस्तरमा पनि यसको बिरोध भइरहेको छ ।

टिप्पणीहरू