राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको पुरस्कार ज्योतिलाई

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको पुरस्कार ज्योतिलाई

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको पुरस्कारका लागि परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारीलाई प्रदान गरिएको हो ।

आज नवलपुरको कावासोतीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पुरस्कार राशीसहित दोसल्ला र सम्मान पत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राधाले समाजप्रति गरेको योगदान कहिल्यै भुल्न नहुने बताएका छन् । आफ्नो पीडा लुकाएर समाज परिवर्तनमा राधाले महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।

राधा क्यान्सर सचेतना फाउण्डेसनको सुझावअनुसार नै गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गरिँदै आएको छ ।

फाउण्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गते स्तन क्यान्सरबाट निधन भएको थियो ।

एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रुपमा घरेलुहिंसा र क्यान्सरसँग लड्नु परेको थियो ।

क्यान्सर लागेपछि राधाले पत्रकारितासँगै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर ग्रामीण भेगमा सचेतना अभियानसमेत चलाएकी थिइन् ।

टिप्पणीहरू