एमाले-काङ्ग्रेसवीच निर्णायक वार्ता
एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनको समर्थन नपाउने प्रष्ट भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष एमालेसँग ‘निर्णायक’ छलफल अगाडि बढाउनु भएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिने निर्णयमा अडिग रहेसङ्गै आजको प्रतिनिधिसभा बैठक स्थगित गराएर प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग छलफल गर्नुभएको हो । संसद भवनभित्रै एक कोठामा अन्य नेताहरुसमेत राखेर देउवा र ओली छलफलमा बस्नुभएको छ ।
दिउँसो साढे १ बजेदेखि जारी छलफलमा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् भने कांग्रेसका तर्फबाट देउवा,आजै दमौलीबाट हतार हतार आइपुगेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बसेका छन् ।
भोलिको संसद बैठकबाट एमसीसी अघि बढाउने तयारीमा रहनुभएका प्रधानमन्त्री देउवा एमालेको जुनसुकै शर्त मानेर भएपनि उसलाई पक्षमा भोट हाल्न मनाउने गरी कस्सिनुभएको बताइएको छ । त्यसका लागि कुनै लेनदेनको सहमति हुने बुझिएको छ । छलफल अहिले पनि जारी छ।
टिप्पणीहरू