बासी खाना खानेको हात खुट्टा काटियो
बासी खाना खाएर कसैको हात र खुट्टा काट्ने स्थितिको सिर्जना हुनु आफैँमा अचम्मको विषय हो । अमेरिकामा हालै यस्तै घटना भएको छ । एउटा रेष्टुरेन्टमा उब्रिएको बासी खाना खाएका एक किशोरलाई केही समयपछि शरीरका थुप्रै अंग चल्न छाडेकाले तत्काल अस्पताल भर्ना गर्नुपरेको छ । उपचारका क्रममा उनका दुवै खुट्टा र हातका सबै औँला काट्नुपरेको छ ।
म्यासाचुसेट्स कलेजका १९ वर्षीय ती छात्रले रेष्टुरेन्टमा भात, कुखुराको मासु र नुडलसहितको चिनियाँ परिकार खाएका थिए । खाएको केही समयपछि पेट दुख्न थाल्यो र छालाको रङ कलेजी हुँदै गयो । थुप्रै अंग नचलेको र छालाको समस्याका कारण अस्पताल भर्ना गरियो । तर,उनको अवस्था झन नाजुक हुन थाल्यो । अनौठो तरिकाले श्वास फेर्न र रक्तचाप बढेपछि बान्ता गर्न थाले । मद्यपान र धूमपान कुलतका बाबजुद पनि उनी स्वस्थ थिए ।
थप स्वास्थ्य परीक्षणबाट उनलाई मेनिनगोकोकल रोग लागेको पत्ता लाग्यो । जसका कारण उनको घाँटी बाउँडिने,बान्ता हुने,श्वासप्रश्वास रोकिने,ट्वाल्ल पर्ने तथा अंगहरू नै नचल्नेजस्ता लक्षण देखिएका रहेछन् । यस्तो अवस्था ब्याक्टेरियाका कारण हुने गर्छ । यसबाट अचानक ज्वरो आउने तथा बान्ता हुनेजस्ता लक्षण पनि देखिन्छन् ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस्तो लक्षण देखिएको केही घण्टामै बिरामीको मृत्युसमेत हुन सक्ने जनाएको छ । आहारविद्हरूले उब्रिएका भात, पास्ताजस्ता खानेकुरा राम्रोसँग नराखिँदा वासिल्लस सेरेअस नामक ब्याक्टेरिया उत्पन्न हुने खतराबारे सबैलाई सचेत गराएका छन् । त्यस्ता खाना पुनः तताउँदा वा लामो समय त्यसै राखिँदा ब्याक्टेरियाले विष सिर्जना गर्छ । त्यहि विषालु खाना खाएकाले त्यस्तो अवस्था आइलागेको प्राप्त समाचारमा उल्लेख छ ।
टिप्पणीहरू