लुम्बिनी प्रदेशमा बन्दको प्रभाव आंशिक

लुम्बिनी प्रदेशमा बन्दको प्रभाव आंशिक

नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा सामान्य देखिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि विरोधमा विप्लव नेतृत्वको नेकपासहित छ वटा राजनीतिक दल र दुई वटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सार्वजनिक सवारीका साधन चलेका छैनन् । यात्रु गन्तव्यमा पुग्न नपाए पनि सडकमा निजी सवारी साधन भने आंशिक रुपमा चलेका छन । सहर र बजारका भित्री भागका अधिकांश पसल खुलेका छन् ।

बुटवल, भैरहवा, भालुवाङ्ग, लमही, घोराही र नेपालगञ्जलगायतका क्षेत्रमा पनि बन्दको प्रभाव आंशिक रुपमा परेको छ । बन्दको आह्वान भए पनि मुख्य राजमार्ग क्षेत्रका पसल आंशिक रुपमा खुलेका छन् ।बन्दको प्रभाव अहिलेसम्म सामान्य रहेको र बुटवल आसपासमा कुनै पनि अप्रिय घटना नघटेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंंकज चुँदालीले जानकारी दिएका छन् ।

आजको बन्द आह्वानकर्तामा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा हुन् ।

-ऋषि भट्टराई

टिप्पणीहरू