बिदाको दिन जताततै जुवा, टहरोमा पौने ४ लाखको खाल
सार्वजनिक बिदाको दिन जुवातासको खाल हुन थालेपछि प्रहरीले विशेष सक्रियता देखाएको छ । महँगा होटलदेखि घर टहरासम्म जुवाडेहरु जुटेपछि प्रहरीले छापा मार्न थालेको हो । सोही क्रममा हिजो काठमाडौं, ललितपुर, बाँके र दाङमा जुवाडेहरु पक्राउसँगै प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी बरामद गरेको छ ।
काठमाडौंको कलंकीस्थित लुम्बिनी खाजा घरमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट नगद २२ हजार २ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको छ ।
उता ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ जनालाई हिजो बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट नगद ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँ र आठ बुक तास बरामद गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–१५ स्वस्थानी टोलस्थित न्यू सुप्रिया होटल एण्ड लजबाट पनि जुवा खेलेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाडेहरुबाट नगद २ लाख २१ हजार ३ सय ५ रुपैयाँ र सात बुक तास बरामद भएको छ ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीस्थित सिटी प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट ६ लाख ९४ हजार ५ सय रुपैयाँ र पाँच बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू