१३ हजार बढी सवारी दुर्घटनामा १६ सय बढीको प्राणान्त

१३ हजार बढी सवारी दुर्घटनामा १६ सय बढीको प्राणान्त

चालु आर्थिक वर्षको पहिलो सात महिनामा देशभर १३ हजार सात सय तीन वटा सवारी दुर्घटना भएका छन् । गत साउनदेखि माघ मसान्तसम्म उक्त संख्यामा दुर्घटना भएको हो । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार तिनमा परी १६ सय ३८ जनाले ज्यान गुमाएका छन् । यस्तै चालु आर्थिक वर्ष भएका दुर्घटनामा १८ हजार दुई सय ३४ जना घाइते भएका छन् ।

सबैभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकाभित्र हुने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात महिना उपत्यकामा छ हजार २१, प्रदेश १ मा दुई हजार एक सय ७८, मधेश प्रदेशमा तीन हजार ४९, बागमती प्रदेशमा (काठमाडौं उपत्यकामा बाहेक) नौ सय ८०, गण्डकी प्रदेशमा दुई सय ४०, लुम्बिनी प्रदेशमा छ सय ७०, कर्णाली प्रदेशमा दुई सय ३८ र सुदुरपश्चिम प्रदेशमा तीन सय २७ वटा दुर्घटना भएका छन् ।

सबैभन्दा बढी सवारी साधन दुर्घटना बागमती प्रदेशमा भए पनि ज्यान गुमाउनेको सबैभन्दा ठूलो संख्या भने मधेश प्रदेशमा देखिन्छ ।

पछिल्लो सात महिनामा सवारी दुर्घटनामा परी काठमाडौं उपत्यकामा ९३, प्रदेश १ मा तीन सय एक, मधेस प्रदेशमा तीन सय ३९, बागमती प्रदेशमा (काठमाडौं उपत्यका बाहेक) दुई सय २३, गण्डकी प्रदेशमा एक सय ४४, लुम्बिनी प्रदेशमा तीन सय ४, कर्णाली प्रदेशमा एक सय २२ र सुदुरपश्चिम प्रदेशमा एक सय १२ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको तथ्याङ्कमा नेपालमा सबैभन्दा बढी सवारी दुर्घटना मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा हुने गरेको उल्लेख छ । पहिलो सात महिनामा देशभर मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा पाँच हजार चार सय ३६ वटा सवारी दुर्घटना भएका छन् ।

प्रवक्ता केसीका अनुसार दुर्घटनाको प्रमुख कारण सवारी साधनको तीव्र गति देखिएको छ ।

टिप्पणीहरू